ताजा अपडेट > > नेपाल टेलिकमको ‘नमस्ते क्रेडिट’ को शुभारम्भ

नेपाल टेलिकमको ‘नमस्ते क्रेडिट’ को शुभारम्भ

काठमाडौं, चैत १६ – नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ। टेलिकमद्वारा शुक्रबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेकाे हाे। कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ। यस्तो सापटी रकम रु ५ देखि रु ४० सम्म उपलब्ध हुने र उक्त रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ। यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन। कम्तीमा ३ महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यो सुविधा उपलब्ध हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएका छन्। कति रकम सापटी लिन सकिन्छ भन्नेबारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ। प्रवक्ता वैद्यले भने, 'यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सञ्चालन गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ।' एक पटक लिएको सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिन्छ। सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ। उक्त अवसरमा राज्यमन्त्री बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवाको शुरुवात् गर्नु सकारात्मक भएकाे उल्लेख गरेका छन्। उनले भने, 'टेलिकमले नमस्ते क्रेडिट सेवा शुरु गर्दै आक्रामक बजार प्रवद्धन गर्ने नीतिको प्रारम्भिक एउटा पाइलोमात्रै हो भन्ने मैले बुझेको छु, अरु यस्ता धेरै काम टेलिकमले गर्नुपर्छ।' मन्त्री बाँस्कोटाले टेलिकमका अन्य सेवाको तुलनामा प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकाले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयता वृद्धि हुने विश्वास व्यक्त गरेका छन्। टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास बढ्ने बताएका छन्।

views: 123


लोकप्रिय समाचार