ताजा अपडेट > > ओलीले भने- कुनै लाउन्ड्रिङ चाहिँदैन, मनिलाउन्ड्रिङ कानूनलाई फेर्नुपर्छ

ओलीले भने- कुनै लाउन्ड्रिङ चाहिँदैन, मनिलाउन्ड्रिङ कानूनलाई फेर्नुपर्छ

मङ्गलबार, माघ १६, २०७४ नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्पत्ति सुद्धिकरण (लाउन्ड्रिङ)को विधिलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्न एमाले मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा ओलीले अहिलेको मनिलाउन्ड्रिङ कानूनलाई फेर्नुपर्नेमा विषयमा जोड दिएका हुन्। अहिलेको मनि लाउन्ड्रिङ नै अनुचित रहेको उनको भनाइ छ। ‘मनि लाउन्ड्रिङ भनेको जसले पैसा निकाल्यो त्यसलाई समाउनु होइन, धारा, वासिङ मेसिनमा जान नदिएपछि यो कसरी लाउन्ड्रिङ भयो?’ उनले प्रश्न गरे। उनले भने, ‘पैसा धारामा लान दिनुहुन्न। पैसा ढिकीमा लान दिनु हुन्न। वासिङ मेसिनमा हाल्न दिनुहुन्न। निकाल्ने बितिक्कै समाउनु हुन्छ।यहाँ त मौका नै छैन। मुसो निस्कने दुलोमा यत्रा साँचो थापे जस्तो गरी बसेर। जुन पैसा चै आएर बसेको लुकेको त्यो पैसा बाहिर निस्कनै नदिने ?’ लुकेको पैसा लगानीको रुपमा बाहिर आएर बृहत्तर आर्थिक गविधिमा सक्रिय भए पनि त्यसलाई सम्पत्ति सुद्धिकरण भएको मान्नुपर्ने उनको भनाइ छ। सम्पत्ति सुद्धिकरणलाई लगनीको अर्को पाटोको रुपमा लिनुपर्ने र यसबारेमा व्यवसायीहरुको धारणा बनाउनुपर्ने ओलीले जानकारी गराए। स्रोत नखुलेको पैसा समाउनेलाई मनी लाउन्ड्रिङ भन्नै नमिल्ने ओलीको जिकिर थियो। उनले भने, ‘स्रोत नखुलेको पैसा मात्रै समाउने हो भने मनी लाउन्ड्रिङ त भएन। खोई कहाँ नेर लाउन्ड्रिङ, साबुन खै, पानी खै ? खोई सरफ ? साबुन पानी सरफ केही पनि छैन अनि हामी लाउन्ड्रिङ भन्छौँ साँचो मात्रै थापेर बस्छौँ।’ सम्पत्ति सुद्धिकरणकै विषयमा तत्कालिन गभर्नर युवराज खतिवडाले व्यवसायी अजेयराज सुमार्गीको ३ अर्ब रुपैयाँ रोकिदिएका थिए। जुन अझैसम्म आउन सकेको छैन।

views: 49


लोकप्रिय समाचार