समाज > अपराध > युनिटीका ठग वाणिज्य बैंकको बोर्ड सदस्य

युनिटीका ठग वाणिज्य बैंकको बोर्ड सदस्य

आश्विन ४, २०७४ नेटवर्किङ व्यवसायमार्फत् सर्वसाधारणको झण्डै चार अर्ब रुपैयाँ ठगीमा मुछिएका जनक बराललाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय वाणिज्य बैंकको बोर्ड सदस्यमा नियुक्त गरेका छन् । बराल युनिटी लाइफको महत्वपूर्ण पदमा बसेकाले उनीविरुद्ध पनि ठगीमा मुद्दा दायर भएको थियो । ३ लाख ६६ हजार भन्दा बढी सर्वसाधारण जनताबाट युनिटीले ठगी गरेको थियो । पूर्वअर्थमन्त्री कृष्णबहादुर महराको दबाबमा कांग्रेसका अर्थमन्त्री कार्कीले बराललाई बाणिज्य बैंकको बोर्ड सदस्य नियुक्त गरेको खुलेको छ । माओवादी कोटामा एक महिनाअघि मन्त्रीस्तरीय निर्णयबाट उनलाई बोर्ड सदस्य बनाइएको हो । जिल्ला अदालत ललितपुरले युनिटी लाइफका अध्यक्ष काशीराम गुरुङसहित १२ जनालाई ३ वर्ष कैदको सजाय तोकेको छ । उनीहरुलाई अदालतले जनही १ करोड ६ लाख २६ हजार २ सय ७६ रुपैयाँ जरिवानासमेत गरेको थियो । त्यसैगरी उनीहरुबाट जम्मा बिगो १२ करोड ७५ लाख १५ हजार ३ सय १७ रुपैयाँ दामासाहीले बिगो भराउने फैसला गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको इजलासले कैद र जरिवाना सजाय सुनाएकाहरुमा सञ्चालक नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टण्डन, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवाली छन् । उनीविरुद्ध प्रहरी प्रतिवेदन तथा दिनेशकुमार भण्डारीसमेतको जाहेरीले नेपाल सरकार बादी भई २०६७ जेठ २८ गते ललितपुर जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको थियो ।

views: 83


लोकप्रिय समाचार