अर्थ /वाणिज्य > सेयर बजार > शेयर बजारमा एनआरएनको प्रवेश खुला गर्ने बोर्डको तयारी

शेयर बजारमा एनआरएनको प्रवेश खुला गर्ने बोर्डको तयारी

Aug 31, 2017 काठमाडौँ। नेपाल धितोपत्र बोर्डले गैरआवासीय नेपालीलाई पूँजी बजारमा प्रवेश गराउने भएको छ। बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीहरुको लगानी शेयर बजारमा भित्र्याउन आवश्यक कार्यबिधि बनाउने तयारी गरेको जनाएको छ। बोर्डले बिहीबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेन्ज संचालनकालागि सहजीकरण गर्ने समेत उल्लेख गरेको छ। दोस्रो बजारका लगानीकर्तालाई आर्थिक वर्ष २०७५/७६ सम्म स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने पनि बोर्डले जनाएको छ। नीति तथा कार्यक्रममा भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्ड सम्बन्धी आवश्यक नियम बनाउने कार्यक्रम समेत बोर्डले समावेश गरेको छ। यस वर्ष बोर्डले सुचिकृत संगठित संस्थाहरुकालागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका बनाएर लागू गर्नुका साथै शेयर बजारमा लगानी गर्ने उदेश्यले स्थापना भएका इन्भेस्टमेन्ट कम्पनीलाई समेत यस वर्ष कम्पनी रजिस्टारको कार्यालयसंग समन्वय गरी नियमनको दायरामा ल्याउने बोर्डका अध्यक्ष रेबत बहादुर कार्कीले जानकारी दिए। सामुहिक लगानी कोषतर्फ बोर्डले आगामी वर्ष खुलामुखी योजना बजारमा प्रवेश गराउने बोर्डको योजनामा परेको छ। धितोपत्र बजार प्रशिक्षण संस्था स्थापना र पूँजी बजार प्रदर्शनी तथा अन्तर्राष्ट्रिय सेमिनार लगायतका कार्यक्रम गरी धितोपत्र बजारको स्तरोन्नती गर्ने बिषयहरु समेत नीति तथा कार्यक्रममा समावेश छन्।

views: 127


लोकप्रिय समाचार