समाज > अपराध > लागूऔषध ओसारपसार नियन्त्रण गर्न सम्झौता गरिने

लागूऔषध ओसारपसार नियन्त्रण गर्न सम्झौता गरिने

भाद्र ८,२०७४ प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा संलग्न रहेका उपप्रधानमन्त्री तथा परराष्टमन्त्री कृष्णबहादुर महराले गृह मन्त्रालयसँग सम्बन्धित लागूऔषधको अवैध ओसारपसार र दुरूपयोग नियन्त्रणसम्बन्धमा नेपाल र भातबीच सम्झौता हुने जानकारी दिएका छन् । उक्त सम्झौताअन्तर्गत सचेतना अभिवृद्धि, समुदायमा आधारित शिक्षा कार्यक्रम र उपचार तथा पुनःस्थापना जस्ता क्षेत्रमा काम गरिने छ । लागूऔषधको दुरूपयोग नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने बारेमा सो सम्झौता गरिने उपप्रधानमन्त्री महराले जानकारी दिए । नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले उद्योेगसम्बन्धी गुणस्तर निर्धारणका कार्यक्रममा पनि दुई देशबीचमा सम्झौता हुने बताए । दुवै देशका उत्पादनहरूलाई गुणस्तर चिह्न प्राप्त गर्ने र तिनको प्रयोगमा मान्यता दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिने छ । त्यसैगरी नेपालमा भूकम्प पीडितलाई भारत सरकारले दिने पुनर्निर्माणको सहयोगको प्याकेज तथा त्यसमा सम्पदा निर्माण, शिक्षा, प्राविधिक सहयोग, परामर्शदाता सहयोग, स्वास्थ्य लगायतका क्षेत्रको सहयोगमा पनि सहमति हुने बताइएको छ । सोही अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ सहयोग सम्झौताभन्दा पनि पुराना सहमति र सम्झौतालाई कार्यान्वयन तहमा ल्याउने विषयमा बढी जोड दिइने बताए ।

views: 98


लोकप्रिय समाचार