प्रबिधी > कृषि प्रबिधि > विदेश सयरमा कृषि कर्मचारीको लर्को

विदेश सयरमा कृषि कर्मचारीको लर्को

८ श्रावण २०७४,काठमाडौं । कृषिका उच्च कर्मचारीलाई विदेश मोहले निकै छोएको छ । विभिन्न गैरसरकारी संस्था (आईएनजीओ) को आर्थिक सहयोगमा हुने विदेश ‘सयर’ मा सहभागी हुन कृषिका कर्मचारीले मरिहत्ते गर्दै आएका छन् । कृषिका उच्च कर्मचारी वैदेशिक भ्रमण भनेपछि लालायित नै हुन्छन् ।पछिल्लो समयमा यसको ज्वलन्त उदाहरण बनेको छ, कृषि विकास मन्त्रालय, उच्च मूल्य शृंखला परियोजना, जलवायु प्रकोप समुत्थान निर्माण आयोजना, बीउ बिजन आयोजना (बुटवल) लगायत आयोजनामार्फत असार १४ देखि अहिलेसम्म करिब १० पटक वैदेशिक भ्रमणको आयोजना भइसकेको छ । आयोजनादेखि मन्त्रालयसम्म सुनसान बनाएर वैदेशिक भ्रमणमा सहभागी हुने चलन पछिल्लो समय निकै बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र केही अन्य आयोजनाको थप भ्रमण हुने क्रममा छ । यसरी आयोजना भएका भ्रमणमा पाँच सय संख्यामा अधिकृतदेखि सचिवसम्म भ्रमणमा सहभागी भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अपवादबाहेक वैदेशिक भ्रमणमा किसानको सहभागिता शून्य छ । अधिकांश भ्रमणमा सहसचिवहरूकै बोलवाला हुन्छ । विभागीय मन्त्री छनोट नभएको अवस्थाको मौका छोपी असार १४ गतेदेखि कृषिका उच्च कर्मचारीलाई विदेश सयर गर्ने मोहले दौडादौड बनाएको छ । एउटा भ्रमण सकेको दुई दिन नपुग्दै कृषिका कर्मचारी विदेश भ्रमणको लिगलिगे दौडमा सहभागी हुँदै आएका छन् । आईएनजीओको खर्चमा वैदेशिक भ्रमणमा जाँदा खाना, बस्न र घुम्ने खर्चका साथै पदअनुसार थप भत्तासमेत पाइने भएकाले कर्मचारी मन्त्रालय नै रित्तो बनाएर यस्ता कार्यक्रममा सहभागी हुने गरेको पाइएको छ । पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामार्फत ३६ किसानसहित ९५ जना उच्च कर्मचारी वैदेशिक भ्रमणमा गएका छन् र जाने क्रममा पनि छन् । यो आयोजनामार्फत सिँचाइ, कृषि, वन, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), उद्योग, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका १५ जना उच्च अधिकारी पनि वैदेशिक भ्रमणमा सहभागी भएका छन् ।

views: 145


लोकप्रिय समाचार