समाज > बैदेशिक रोजगारी > १० वर्ष जेलमा बसेँ, मलाई फाँसीको निर्णय हुँदा पनि एकदिन मर्नैपर्छ भन्ने भयो- डोल्मा

१० वर्ष जेलमा बसेँ, मलाई फाँसीको निर्णय हुँदा पनि एकदिन मर्नैपर्छ भन्ने भयो- डोल्मा

२०७४ श्रावण ६,शुक्रबार काठमाडौं । काठमाडौं । परिवारको सुख र सन्तानको उज्ज्वल भविष्यको सपना देख्दै रोजगारीका लागि मरुभूमितिर ०६२ सालमा कुवेत हानिएकी डोल्मा शेर्पा मर्दामर्दै बाँचेर मुलुक फर्किएकी छिन् । फिलिपिनो कामदारको हत्या अभियोगमा २०६४ मा डोल्मालाई कुबेतका दुई अदालतले फाँसीको फैसला सुनाएका थिए । १० वर्षसम्म कुवेतको कालकोठरीमा बन्दी जीवन बिताएकी डोल्माले मुलुक नदेखी फाँसीको फन्दामा झुन्डिनुपर्ने, परिवारसँग नभेटी मर्नुपर्ने कठोर पीडामा आफ्ना आँखाका सबै आँसु त्यही मरुभूमिमा सुकाएर आइन् । घामको उज्यालो नदेखेको ती १० वर्षमा एउटा फाँसीको पीडाभन्दा पनि उनले देशमा मर्न नपाउने छटपटीमा कयौँ पटक मर्दैबाँच्दै गरेको सुनाइन् । नेपाली धर्तीमा पाइला टेकेपछि, शरीरमा आफ्नो देशको पारिलो घाम परेपछि पुनः उनको आँखामा एउटा मूल फुटेको छ । र, त्यही कहालीलाग्दो १० वर्षलाई एउटा नराम्रो सपना सम्झेर आँसुले धोइदिएकी छिन् । बिसञ्चो भए पनि डोल्माले आफ्नो विगत यसरी सुनाइन् । ... म आज नेपाल आएको ११ दिन भयो । अहिले केही आराम गरिरहेको छु । बिरामी भएका कारणले हस्पिटल पनि गइरहेकी छु । टाउको दुखाई र हातको बिरामी छु । आज माइती नेपालले यहाँ कार्यक्रम गरेको छ, म त्यसको लागि धन्यवाद दिन्छु । अस्पतालमा अस्ति रगत परीक्षण गरे, एक्स रे गरेँ । नियमित स्वास्थ्य जाँचमा छु । मलाई भिटामिन कमी भएको रहेछ । १० वर्ष जेलमा बसेँ । मैले घाम देखिँन । त्यसैले पनि होला शरीर कमजोर छ । जेलमा पनि हृदयघात सम्बन्धि रोग पनि लागेको थियो । त्यहाँ पनि टाउको र मुटुको सम्बन्धि उपचार गरेर ६ महिना औषधि खाएँ । ब्लडप्रेसर पनि हाइ छ, त्यसको पनि ६ महिना औषधि खाएँ । धेरै दुःख भयो जेलमा बसेर । ... म नेपाल आएर अहिले होस्टलमा बसिरहेकी छु । यहाँ धेरैको माया पाएँ । यहाँ अहिले माइती नेपालमा आएको छु । पत्रकारहरू धेरैजनासँग भेट भयो । उहाँहरू धेरै प्रश्न सोध्नुभयो । मैले ममाथि भएको घटनाका बारेमा उहाँहरूलाई बताइरहेकी छु । भगवान बुद्ध र पशुपतिनाथलाई साँची राखेर म बोल्दैछु । मैले उहाँहरूलाई मेरो कुरा बताइरहेकी छु तर उहाँहरूले कसरी लेख्नुहुन्छ थाहा छैन । ... नेपाल आएर मैले मेरो परिवारका नन्दलाई भेटेँ, जेठानीहरू भेटेँ । सबै मलाई सहयोग गर्नेहरूसँग भेटेँ । मलाई सरम पनि लागि रहेको छ, खुसी पनि छु । म मरिसकेको मान्छे पनि जिउँदै फर्केर आएको छु, म खुसी छु । मलाई माया गर्ने मेरा आफन्तसँग भेट्न पाएको छु । विदेशमा ममाथि भएको घटना सम्झँदा पनि रिँगटा लाग्छ । मेरो दिमाग ‘ह्याङ’ भइरहेको छ । त्यो दिन सोच्छु, मलाई किन मारेन किन उसलाई (फिलिपिनी महिला) मात्र मार्यो । ऊ पनि एउटा बच्चाको आमा थियो । ऊ पनि आफ्नो घरपरिवार, छोराछोरी छाडेर आएको थ्यो । अर्काको देशमा । मलाई उसको निकै माया लाग्छ । ऊ त मरेर गयो तर म जिवित मान्छेले यति धेरै दुःख पाएँ । त्यो घटना सोच्न पनि सक्दिनँ । मैले जेलमा मुस्किलले बिताएँ । सुरुका चारपाँच महिना मैले निकै दुःख पाएँ । मसँग पैसा थिएन । केही पनि थिएन । म त्यतिबेला धेरै रुन्थेँ । एक जना दिदी हुनुहुन्थ्यो । नुहाइधुवाइ लुगाकपडा उहाँले नै व्यवस्था गरिदिनुहुन्थ्यो । जेलमा थुप्रै नेपाली पनि थिए । मलाई फाँसीको सजाय सुनाइएपछि साउदी अरबको एम्बेसीबाट मान्छे आएका थिए । त्यतिबेला कुवेतमा एम्बेसी थिएन । अहिले एम्बेसी राखेको झण्डै चार वर्ष भयो होला । यो चारवर्षमा पनि कुवेतको एम्बेसीबाट मैले केही पाइनँ । त्यतिबेला एकजना मित्र सर हुनुहुन्थ्यो, उहाँको सहयोग पाएँ । त्यहाँ एकजना ‘सागिर साहब’ हुनुहुन्थ्यो उहाँको पनि सान्त्वना पाएँ । कुवेतमा एम्बेसी भएपछि दुईतीन महिनामा एकपटक भने एम्बेसीका मान्छेसँग भेट हुन्थ्यो । मलाई एम्बेसीप्रति गुनासो छ । अरु देशका एम्बेसीहरूलाई फोन गर्ने बित्तिकै आउँछन्, सहयोग गर्छन् तर नेपालको एम्बेसी फोन गर्दा पनि फोन उठाउँदैनन् । उठाए पनि को हो भनेर सोध्छन्, म डोल्मा हो भनेपछि, लु के छ भनिहाल न म बिजी छु भन्छन् । त्यसरी भनेपछि मैले भन्ने कुरा के भयो त ? उनीहरूले हाम्रो कुरा राम्ररी सुनिदिँदैनन् । नेपालमा घरपरिवारसँग सुरुका दिनमा सम्पर्क हुन्थ्यो । जेल परेपछि दुईतीन महिनासम्म घरमा श्रीमान्सँग पनि कुरा हुन्थ्यो । उहाँले डोल्मा चिन्ता नगर, जेजस्ते भएपनि म वकिल राखेर सहयोग गर्छु भन्नुहुन्थ्यो । धेरै राम्रो कुरो हुन्थ्यो । जेलमा पुराना मान्छेहरू १५–२० वर्षदेखि बसिरहेका पनि हुन्थे । भर्खरै जेल पर्नेलाई तिनीहरूले हेला गर्थे । मान्छे मारेको केसमा अरू आरोपीहरू पनि थुप्रै थिए । अमेरिकी, भारतीय महिलाहरू पनि थिए । कसैले यस्ती सोझी केटीले कसरी ज्यान मार्न सक्छ भन्थे, मसँग अँगालो मारेर रुन्थे, एक जोर कपडा दिएर पनि सान्त्वना दिन्थे । कसैले चाहिँ तिमीले नमारेको भए कसरी जेल आउँथ्यौ र पनि भन्थे । त्यतिखेर मैले कस्तो जिन्दगी पाएछु भन्ने जस्तो पनि लाग्थ्यो । मलाई फाँसीको फन्दामा लाउँछु भनेर तिनीहरूको अफिस (जेल प्रसासन) मा बोलाए । त्यहाँ कागजमा ल्याप्चे लगाउन लगाउँथे । पढेलेखेको भए पनि वा केही नजानेको भएपनि त्यहाँ ल्याप्चे नै लगाउनुपथ्र्यो । फाँसी दिने निर्णय गरिएको कागजमा मैले ल्याप्चे लगाएँ । जेलमा मसँगै रहेका मान्छेले मलाई सिकाउँथे, तिमीलाई कागजमा ल्याप्चे लगाउन बोलाउँछन्, नपढी ल्याप्चे लगाउनु हुँदैन । अफिसमा मैले सोधेँ, के कारणले थ्याप्चे लगाउने हो ? म त लगाउँदिन भनेँ । पढेर सुनाउनु भनेँ । उनीहरूले (महिला प्रहरी) सुनाए । मलाई फाँसीको सजाय तोकिएको रहेछ तर तारिख भने तोकिएको रहेनछ । अब त्यहाँ मैले गर्दिनँ भनेर हुँदैन । मैले गर्नै पर्यो । त्यहाँ मसँगै भएका दिदीहरू पनि रोए । तिमी त सानै छौ तिमीले नगरेको काममा पनि सजाय पायौ, जेलले पनि कसरी सबै कुरा नबुझी फाँसी दिएको होला ? उनीहरू सबै मसँगसँगै रोए । उनीहरूले मलाई माया गर्थे । विचरा भन्थे । मलाई फाँसीको निर्णय गरिएको कागजमा अरबी भाषामा लेखिएको थियो । उनीहरूको कुरा म त्यतिबेलासम्म बुझ्ने भइसकेको थिएँ । उनीहरूले सुनाउँथे म बुझ्थेँ । त्यहाँ १ वर्ष बितिसकेको थियो । मलाई फाँसी दिने निर्णय गरेपछि, म सोच्थेँ, मानिसको जीवन लिएपछि एक दिन त मर्नैपर्छ, जेजस्तो भएपनि मान्छे, दुर्घटनामा पनि मर्छन्, घरमै मर्छन्, अस्पतालमै मर्छन्, कोही आत्महत्या गरेर मर्छन् तर मैले बुद्ध भगवानसँग प्रार्थना गर्थेँ, म निर्दोष छु । माथिबाट ईश्वरले हेरिरहेको हुन्छ, म कस्तो छु भन्ने कुरा । मलाई आशा थियो, म मर्दिनँ होला, मलाई झुन्ड्याउँदैन होला । तर मानवको जीवन लिएपछि एकदिन त मर्नै पर्छ । दुःख चाहिँ लाग्थ्यो, मेरो परिवार हेर्न पाइनँ, मेरो दुई वर्षको छोरा छोडेर आएको छु, छोरालाई देख्न पाइनँ, आमालाई देख्न पाइनँ । आफ्नै देशमा मर्न सकिनँ भनेर धेरै दुःख लाग्थ्यो । मलाई फाँसीको सजाय सुनाइएको थियो । धेरै वर्षपछि फाँसीको सजायबाट घटाइयो तर पनि २५ वर्ष जेलमा बस्नैपर्छ । आजीवन जेल बस्नुपर्छ भने । फाँसी नदिने भएपछि केही खुसी भएँ । तर पनि २५ वर्षमा मर्न पनि सकिन्छ, घर फर्कन पनि सकिन्छ । यो खुसीको कुरो कसलाई सुनाउने मलाई छटपटी भइरह्यो । मैले सुनेअनुसार अहिले मेरो श्रीमान् घरको समस्या टार्न वैदेशिक रोजगारीको सिलसिलामा उहाँ इराकमा हुनुहुँदो रहेछ । उहाँसँग फोनमा बोलेँ । खुसी हुनुहुन्छ । उहाँले तिमी अहिले आराम गर । नेपाल फर्केर आयौ, मलाई खुसी लाग्यो भन्नु भएको छ । उहाँलाई दुवैपटिको जिम्मेवारी छ । उहाँले दोस्रो विवाह गर्नुभएको छ । मैले उहाँलाई बुद्धि पुर्याएर, दह्रो भएर काम गर्नू भनेको थिएँ । उहाँलाई मैले भनिसकेको थिएँ, म फर्कन पनि सक्छु । जीवन अझै लामो छ । मेरो छोरा छ । आफन्तहरू छन् । मैले आफ्नो घरपटिका धेरै मान्छेहरू चिनेको थिइँन । अहिले सबैसँग चिनजान भएको छ । म निकै नै खुसी छु । उहाँहरूले मेरो लागि निकै सहयोग गर्नु भएको छ । अहिले बुहारी भनेर उहाँहरू भेट्न आइरहनु भएको छ, मलाई धेरै खुसी लाग्छ । ... म विदेशमा रोजगारी छ भनेर जान चाहने दिदीबहिनीलाई कोही पनि विदेश नजानु भन्छु । जानै पर्ने भए पनि काम सिकेर जानुहोला, त्यो देशको भाषा सिकेर जानुहोला । सकेसम्म विदेश नजानु होला, आफ्नै देशमा पानी पिएर भए पनि, कोदालो चलाएर भएपनि गरेर खानु होला । कसैकसैले घर बेचेर विदेश जानु भएको छ । उहाँले विदेशमा कमाउन पनि सक्नु भएको छैन । फर्केर आउँदा घर पनि हुँदैन । विदेशमा दिदीबहिनीहरू धेरै फसिरहनु भएको छ । धेरै जेलमा हुनुहुन्छ । नेपाली दाजुभाइ दिदीबहिनीहरू विदेश नजानुस् । सकेसम्म नजानुस् । हाम्रो सरकार, नेपाल सरकारलाई म भन्छु, गरिबका लागि सुविस्ता गर्नुपर्यो । नेपालमा गरेर खान सक्ने सुविस्ता बनाइदिनु पर्यो । बाहिर देशमा नेपालीले दुःख पाउनु नपरोस् । सरकारले मेरो लागि गरेकै हो । अरुका लागि पनि गरिरहेकै होला । तर सरकारलाई मेरो यो अनुरोध हो, नेपालीलाई देशमै गरेर खानसक्ने अवस्था बनाइदिनु पर्यो ।

views: 83


लोकप्रिय समाचार