लोकप्रिय समाचार > नेपाल राजनीति > हिमानीसँग बिन्तीपत्रमै लफडा

हिमानीसँग बिन्तीपत्रमै लफडा

अषाढ १८, २०७४ काठमाडौं । दर्शनभेटका लागि प्रजाका छोराछोरीले बिन्तीपत्र हाल्नै पर्ने परम्परा कायम राख्ने कि मुलुकको परिवर्तित राजनीतिक परिस्थितिलाई आत्मसात गर्दै खारेज गर्ने ? भन्ने विषयमा पूर्वराजपरिवारभित्र मतभिन्नता उत्पन्न भएको छ । समाचार स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह र उनका एक मात्रै छोरा पारस शाहबीच विवाद उत्पन्न हुनुको मुख्य कारण यही थियो । दर्शनभेटका लागि बिन्तीपत्र लेख्नुपर्ने औपचारिकतालाई खारेज गर्नुपर्ने पक्षमा पूर्वयुवराज पारस थिए, तर ज्ञानेन्द्रले नमानेका कारण झगडा सुरु भएको थियो । यो झगडापछि ज्ञानेन्द्रले पारसलाई बाइपास गरेर बुहारी हिमानीलाई अघि सारेका थिए । तर पछिल्लोे समयमा दरबारको यो कर्मकाण्डी पारा हिमानीलाई पनि मन परेको छैन । ज–जसले भेट्न चाहन्छन्, उनीहरूलाई समय दिएर भेट्नुपर्ने सुझाव हिमानीको छ । तर ज्ञानेन्द्र शाह तथा उनको निजी सचिवालयले भने दर्शनभेट गर्न चाहनेले बिन्तीपत्रको फम्र्याटमा हस्ताक्षर गर्नै पर्ने परम्परा त्याग्न सकेको छैन । पूर्वराजा ज्ञानेन्द्र शाहलाई को कोसँग भेटाउने भन्ने गृहकार्य बालुवाटारमा रहेको हिमानी ट्रस्टको कार्यालयबाट पनि हुने गर्दछ । आफ्नो कार्यालयबाट तय भएको लिस्टमा परेका सर्वसाधारणलाई बिन्तीपत्रको फारम भर्ने झन्झटमा नफँसाई सिधै भेट गर्दा राम्रो हुने र गोप्यता पनि रहने, भेटघाट गर्न चाहने विभिन्न पार्टीका कार्यकर्तालाई पनि सहज हुने सुझाव हिमानीको छ । हाल हिमानी ट्रस्ट भूकम्पले ध्वस्त भएका सर्वसाधारणका आवास निर्माणको अभियानमा छ । भूकम्पबाट बढी प्रभावित ११ जिल्लामा ३०–३० करोड रुपैयाँका दरले ट्रस्टले खर्च गरिरहेको छ । उक्त रकमको व्यवस्था जापानी सहयोग नियोग जाइका र दक्षिण कोरियाली सहयोग नियोक कोइकाले गरेको छ । पूर्व शाहज्यादी शीताश्मा शाह पनि हिमानी ट्रस्टमै आवद्ध छिन् ।

views: 979


लोकप्रिय समाचार