समाज > बैदेशिक रोजगारी > नेपाली कामदारको पहिलो गन्तव्यमुलुक कतार– नाकाबन्दीका कारण घट्दैछ आकर्षण

नेपाली कामदारको पहिलो गन्तव्यमुलुक कतार– नाकाबन्दीका कारण घट्दैछ आकर्षण

२०७४ जेठ ३१, -नवराज विष्ट  
काठमाडौं । गतसाता सोमबार साउदी अरब, युएई, बहराइन, इजिप्टलगायत देशले कतारसँग कूटनीतिक सम्बन्ध तोडेर नाकाबन्दी सुरु गरेपछि कतारमा समस्या उत्पन्न भएको छ । योसँगै कतारबाट बाहिरिन र प्रवेश गर्न समस्या उत्पन्न भएको छ ।
इत्तिहाद, इमिरेट्स, फ्लाइ दुबई, एयर अरेबियालगायत एयरलाइन्सले कतारमा उडान बन्द गरेपछि त्यहाँबाट बाहिरिन र भित्रन असुविधा भएको छ । यात्रुको चाप बढ्दो छ । यस्तै साउदी अरब र बहराइनले कतार एयरवेजको लाइसेन्स रद्द समेत गरिदिएका छन् । यी मुलुकले सम्पूर्ण हवाइ सम्बन्ध बन्द गरेका छन् ।
इरानसँग कतारको नजिकिँदो सम्बन्ध यी मुलुकले मनपराएका छैनन् । कतारले आतंकवादलाई प्रश्रय दिएको यी मुलुकको भनाइ छ । जसले मुस्लिम ब्रदरहुडका नेता युसुफ अल क्वारादावीसँगै १२ संस्था र ५९ व्यक्तिको नाम आतंकवादको सूचीमा सार्वजनिक गरेका छन् । यो निर्णयले कतारमाथि आर्थिक दबाव बढाएको छ ।
यी मुलुकसँगै लिबिया, माल्दिभ्स र यमनले पनि कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरे ।

नेपालबाट कतार जानेको संख्यामा कमि
नेपालका लागि वैदेशिक रोजगारीको छनौटको पहिलो गन्तव्यमा पर्छ कतार । साढे ४ लाख बढी नेपाली वैदेशिक रोजगारका कारण कतारमा आश्रित छन् । कतारको श्रम बजारमा नेपालीको यो संख्या दोस्रोमा आउँछ । नेपालीहरू ०५२ सालदेखि वैदेशिक रोजगारीमा कतार जान थालेका हुन् । आव ०७२÷७३ मा मात्रै रोजगारीका लागि नेपालबाट झण्डै एक लाख ५० हजार नेपाली कतार पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । ०७३÷७४ को १० महिनामा एक लाख २५ हजार नेपाली कतार पुगेका छन् ।
मध्यपूर्वका साउदीलगायतका मुलुकले कतारमाथि प्रतिबन्ध लगाएपछि त्रास र रोजगार असुरक्षाका कारण नेपाली कामदार पनि प्रभावित भएका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकलाई हेर्ने हो भने गत वैशाख महिनामा भन्दा जेठ महिनामा कतार जाने कामदारको संख्या घटेको छ । यी दुई महिनाको विश्लेषणलाई हेर्ने हो भने पनि कतारप्रति नेपाली कामदारको आकर्षण केही घटेको देखिन्छ । वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार अघिल्लो महिनाको तुलनामा झण्डै एकहजारको हाराहारीमा नेपाली कामदार जेठ महिनामा घटेका छन् ।
यद्यपि कतारको एउटा मात्र कम्पनीबाट आएको माग संख्यालाई विश्लेषण गर्ने हो भने पनि कतार जान रोकिएका कामदारको संख्या अझ बढी छ । ग्रुप सेक्युरिटी सिस्टम सर्टिस सिस्को इन्टरनेसनल कम्पनीले यही महिनाभित्र उड्ने गरी झण्डै ४०० नेपाली कामदार माग गरेको थियो । नेपालमा झण्डै ८०० बढी म्यानपावर कम्पनी छन् । ती प्रत्येकले कतारका लागि जनशक्ति पठाउँछन् ।

विश्वकप फुटबलका लागि तयारी गरिरहेको कतारले भौतिक संरचना निर्माणलाई तिव्रता दिएको छ । र नेपाली कामदार त्यसप्रति लक्षित छन् । विगत केही वर्षदेखि मलेसिया, साउदी अरब र दुबईले नेपाली कामदारको माग घटाएपछि कतार जानेको संख्या बढिरहेको छ ।
विभागको तथ्यांक अनुसार गत वैशाख महिनामा १७ हजार ३ सय ३६ जना पुरुष र ३ सय ७८ जना महिला गरी जम्मा १७ हजार ७ सय ४ जना वैदेशिक रोजगारका लागि गएको देखिन्छ । तर जेठ महिनामा यो संख्या केही कम देखिएको छ । विभागका प्रवक्ता अधिकारी भन्छन्, “मध्यपूर्वका केही मुलुकले कतारमा गरेको नाकाबन्दीका कारण पनि यो प्रभाव परेको हुनसक्छ, अघिल्लो महिनाको तुलनामा तथ्यांक घटेको छ ।”
जेठ महिनामा १५ हजार ७ सय ४३ पुरुष र ३ सय २९ जना महिला गरी कूल १६ हजार ७२ जना कामदार कतार पुगेको देखिन्छ ।


के भन्छन् कामदार नेपाली ?
१४ वर्ष अघिदेखि वैदेशिक रोजगारीमा कतार धाइरहेका सुनसरीका सुवास गौतम बाहिर हल्ला चलेजस्तो कतारमा समस्या नभएको बताउँछन् तर पनि भावी समस्याहरू भने आइपर्ने स्वीकार्छन् । उनकै शब्दमा हेरौँ, गौतम भन्छन्, “कतारको बारेमा आएका अनेक समाचार र हल्लाले गर्दा नेपाल तथा अन्य देशमा रहनु भएका आफन्त तथा शुभचिन्तकले चिन्ता ब्यक्त गर्दै यहाँको वस्तुस्थितीको बारेमा चासो व्यक्त गर्नु स्वभाविक हो । कतार विश्वकै बढी प्रतिव्यक्ति आय भएको । २०–२२ लाख भन्दा बढी विदेशी नागरिकलाई रोजगार दिइरहेको देश हो । यो परिस्थितिमा पनि जनजीवनमा कुनै असरको महसुससम्म हुन नदिएको अवस्था हो ।

कतारमा कुनै पनि संकट आएको छैन । जनजीवन सामान्य रहेको छ । खाद्यान्न १२ महिनालाई पुग्ने मौजाद रहेको छ भने सब्जी तथा तरकारी वैकल्पिक मार्ग तथा अन्य देशबाट आइरहेको छ । ग्याँस तथा पेट्रोल कतारको आफ्नै उत्पादन भएको र बिजुली बत्तीको कुनै समस्या नभएको हुँदा हामी कतारमा रहेका नेपाली अहिले सम्म सकुशल सामान्य अवस्था मा छौँ । नियमित काम गरिरहेका छौँ ।
आशा र विश्वास गरौँ, कतार रास्ट्रका छिमेकीसँगको समबन्ध चाडै नै पूर्ववत रूपमै आउने छ ।”

गौतमका अनुसार अहिले कतारमा महंगी बढेको छैन । यो हल्लामात्र हो । अहिले रमादानको अवसर भएकाले कतार सरकारले महंगी बढ्न नदिने र नियन्त्रण गर्नेछ । तर, यस्तै अवस्था रहिरहने हो भने निर्माण सामग्रीको अभाव हुने र त्यसको असर विस्तारै पर्दै जानेछ । कतार आवतजावतका लागि भने हवाइ टिकट पाउन समस्या भइरहेको छ । अहिले पनि सहजै पाउने अवस्था भने छैन । कतारका लागि उडान भर्ने इमिरेट्स, इत्तिहाद, फ्लाइ दुबई, एयर अरेबियालगायत विमानले कतारका लागि उडान रोकिदिएका छन् ।
तर सीमानाका बन्द भएकाले ढुवानी व्यवसायमा भने प्रतक्ष्य असर परेको छ ।

अहिले मुस्लिम समुदायको पवित्र महिना रमदान रहेकाले पनि कतार सरकारले महङी बढ्न दिएको छैन । तर यहाँको औद्योगिक तथा निर्माण क्षेत्रमा भने सामान्य असर पर्न थालेको छ । विश्वकै धेरै कम्पनीले मध्यपूर्वका लागि व्यापारिक हबका रूपमा युएइलाई आधार बनाएर व्यवसाय बिस्तार गरेको हुँदा धेरै वस्तु युएइबाट आउने गर्थे तर हाल त्यहाँबाट कुनै पनि सामग्री आएका छैनन । यसको असर यहाँको व्यवसायमा परेको देखिन्छ ।

पूर्वाधार निर्माण मा आवश्यक पर्ने निर्माण सामग्री पनि सामुद्रिक बाटोबाट युएईको ज्यवालअली बन्दरगाह हुँदै कतार आउने हुँदा उक्त बन्दरगाहमा कतारका लागि आएका कन्टेनर रोकिएका छन ।

युएई र साउदी अरेबियाबाट बजेट एयरलाइन्स ले कतारसँग को उडान बन्द गरेको हुँदा कतारबाट युएई र साउदी ट्रान्जिट हुँदै नेपाल आउने यात्रुलाई असर परेको र यात्रुको चाप कतार बाट काठमाडौं सिधा उडान गर्ने एयरलाइन्समा बढेको छ । नेपाल आउने हवाइ टिकट पाउन केही गाह्रो परिरहेको छ ।

कतार सरकारले छिमेकी देशसँग वार्ता गर्न इच्छुक रहेको वार्ताबाट नै समस्याको समाधान गर्न आफू तयार रहेको जनाइ सकेको छ । यसका लागि कुवेत र टर्कीले मध्यस्थता प्रयास गरिरहेका छन् ।

views: 105


लोकप्रिय समाचार