लोकप्रिय समाचार > नेपाल राजनीति > माओवादीसँगको सम्बन्ध अझै बढाउने तयारी: समीकरण क्षणिक होइन

माओवादीसँगको सम्बन्ध अझै बढाउने तयारी: समीकरण क्षणिक होइन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि बुधबार सपथ ग्रहणमा जानुअघि नै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका नेताको बैठक बसेर सपथ ग्रहण समारोहमै नजाने चेतावनी दियो ।
सभापति देउवाले बुढानिलकण्ठमा बधाई थापिरहेका बेला पौडेल पक्षको अनामनगरमा भेला बसेको थियो ।
भेलामा सरकार गठन, मन्त्रीको नामावलीका विषयमा पार्टीमा गम्भीर रुपमा छलफल नभएको भन्दै असन्तुष्टि जनाइएको थियो ।
लगत्तै नेपाली कांग्रेसका सभापति एवम् नवनिर्वाचित प्रधानमन्त्री देउवाले पौडेललाई टेलिफोन गरेर अहिले विवाद नझिक्न आग्रह गर्दै सबैलाई मिलाएर लैजाने आश्वासन दिएपछि पौडेल पक्ष पनि प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा सहभागी भयो ।
त्यसपछि दुई शीर्ष नेताको सरकारमा क–कसलाई पठाउने भन्ने बारेमा समेत छलफल भएको छैन ।
बिहीबार दोस्रो चरणको निर्वाचनका लागि उमेदवारी टुंगो लगाउन बसेको बैठकमा समेत यसबारेमा कुनै छलफल नभएको बैठक स्रोतले जानकारी दियो ।
बैठकलगत्तै नेविसंघले सानेपामै आयोजना गरेको कार्यक्रममा दुवै नेताले सम्बोधन गरे । तर त्यहाँ दुवै नेताले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा आफ्ना उमेदवार जिताउन विवादरहित ढंगले लाग्न नेविसंघका कार्यकर्तालाई निर्देशन दिए पनि पार्टीमा सरकारमा सहभागीताको विषयमा भने धारणा राखेनन् ।
तर यसअघि भएका छलफल र आन्तरिक बैठकमा पौडेल पक्षले भने सभापतिले कुनै पनि विषयमा छलफल नगरेको आरोप लगाएका छन् ।
“सरकारमा को को पठाउने भन्ने बारेमा उहाँले छलफलसमेत गर्नुभएन,” पौडेल निकट एक नेताले कुराकानीमा भने,“आफु नजिक मानिएका तीन नेतालाई महत्वपूर्ण मन्त्रालय दिएर लैजानुभयो तर हामीसँग कुनै छलफल समेत गर्नुभएन ।”
देउवाले आफु नजिक मानिएका गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फरमुल्लाह मन्सुरलाई बिहीबार नै सरकारमा सहभागी गराएका छन् ।
सभापति देउवाले माओवादीसहित अन्य सत्तासाझेदार दलसँगको सहमतिमा कांग्रेसले पाउने मन्त्रालय हेरेर भागबण्डा गर्ने आश्वासन पौडेल समुहलाई दिएका छन् ।
“सभापतिज्युले ११ मन्त्रालय कांग्रेसले पायो भने ५ मन्त्रालय दिने र त्यही आधारमा कम भयो भने कम दिने भनेर आश्वासन दिनुभएको छ,” पौडेल निकट स्रोतले भन्यो, “तर अहिलेसम्म कांग्रेसले पाउने कति मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन ।”
कांग्रेसले पाउने कति मन्त्रालय हो, त्यसपछि आफुहरुले पाउने कति मन्त्रालय हो भन्ने बारेमा टुंगो लागेपछि मात्रै नामावली दिने तयारी भएको पौडेल पक्षको भनाई छ ।
तर मन्त्रालयको भागबण्डा टुंगो लगाउन बनेको कार्यदलका सदस्य विमलेन्द्र निधिले अहिले नै कुन पार्टीलाई कति मन्त्रालय भन्ने टुंगो नलागेको बताए ।
उनले नेपाल लोकतान्त्रिक फोरम, राप्रपा लगायतलाई पनि कसरी मिलाएर लैजाने भन्ने बारेमा पनि छलफल भैरहेको बताए ।
“नेकपा माओवादी र कांग्रेसको बीचमा बाँकी रहेको मन्त्रालयको पुनर्विभाजन गर्न चारजनाको कार्यदल बनेको छ,” निधिले भने,“हामीबीच राम्रो छलफल भएको छ । मन्त्रालय कसलाई कति भन्ने बारेमा अझै टुंगो लागेको छैन । समीकरणमा साथ दिने दलहरु राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी लगायत सबैलाई मन्त्रालय निर्धारणका विषयमा छलफल भइरहेको छ । त्यसैले कांग्रेसले पाउने कति, माओवादीले पाउने कति भन्ने टुंगो लागिसकेको छैन ।”
उनले सरकारमा सहभागीताका बारेमा पार्टीभित्र कुनै पनि विवाद नभएको दावी गरे ।
“पार्टीमा कुनै पनि खालको विवाद छैन,” उनले भने, “राजनीति गर्नेले जो पनि आफु मन्त्री हुन चाहन्छ । आफु नभए आफुले मन पराएकालाई मन्त्री बनाउन चाहन्छ । त्यो स्वभाविक हो । यसलाई विवाद भन्न मिल्दैन । उहाँहरु (पौडेल पक्ष) पनि सपथ ग्रहणमा आउनुभएको थियो । बैठकमा पनि आउनुभएको छ । कसरी विवाद हुन्छ ?”

सिटौला पक्षमा असन्तुष्टि !

नेपाली कांग्रेसका नेता कृष्ण सिटौला पनि सभापतिको क्रियाकलापसँग असन्तुष्ट रहेको स्रोतले जानकारी दियो ।
देउवाले पहिले आफु नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित लैजाने आश्वासन सिटौलालाई दिए पनि अहिले छलफल समेत नगरेको उनी निकट स्रोतले जानकारी दियो ।


माओवादीसँगको सम्बन्ध अझै बढाउने तयारी

नेपाली कांग्रेसले माओवादीसँगको सम्बन्ध अझै बढाउने तयारी पनि गरेको छ ।
संघ र प्रदेशको चुनावसम्मै समीकरणलाई कायमै राख्ने तयारी भएको निधिले पत्रकारलाई जानकारी दिए ।
“यो समीकरण क्षणिक होइन,” उनले भने, “कांग्रेस र माओवादी केन्द्र नै नेपालको शान्ति प्रक्रियाका प्रमुख दल हुन्, अरु सहायक मात्रै हुन् । लामो समयसम्म माओवादी र कांग्रेसबीच राजनीतिक समिकरण रहन्छ । प्रदेश र संघीय निर्वाचनका बेलासम्म पनि जान्छौं । जहाँ–जहाँ चुनाव तालमेल गर्न आवश्यक देखिन्छ । त्यहाँ पनि गर्न सकिन्छ भनेर हामीले स्थानीय स्तरमा भनेका छौं ।”

views: 149


लोकप्रिय समाचार