लोकप्रिय समाचार > नेपाल राजनीति > कांग्रेस र माओवादी यसकारण चुनाव सार्न चाहन्छन्

कांग्रेस र माओवादी यसकारण चुनाव सार्न चाहन्छन्

दोस्रो चरणको चुनाव रोक्न या पर सार्न नेपाली कांग्रेस र माओवादी केन्द्र अग्रसर भएका छन् । यी दुई दलले चुनाव सार्न खोज्नुको खास स्वार्थ र कारणहरु छन् । अनेक मध्येको एउटा कारण हो, मन्त्रिमण्डल बनाउनमा समय खर्चन पर्ने अवस्था ।
कांग्रेस माओवादी गठवन्धनमा तलमाथि भएन भने कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्न सक्छन् । देउवालाई प्रधानमन्त्री बनाएर मात्र पुग्दैन, गठवन्धनको पक्षमा दुई तिहाई पुरयाउनुपर्ने पनि भएको छ । दुई तिहाई पुरयाएर प्रधानमन्त्री बन्न सके भने देउवाले मधेसवादी दलहरुको माग पूरा गर्ने सामथ्र्य राख्छन् नत्र राख्दैनन् ।
सरकार बनाएर मात्र नहुने, दुई तिहाई नै जुटाउनुपर्ने भएकाले कांग्रेस माओवादी नेतृत्वले अहोरात्र यही काममा लाग्नुपर्ने अवस्था छ ।
सार्नैपर्ने देउवाको वाध्यता
कांग्रेस सभापति शेरबहादुर देउवा पहिलो चरणको चुनावी परिणामबाट निकै अप्ठेरोमा परेका छन् । किनभने पहिलो चरणमा एमालेले पाँच हजार सात सय १४ पद जित्दा कांग्रेसले चार हजार दुईसय ७१ पद मात्र जितेको छ ।
दोस्रो चरणको चुनावमा टिकट वितरण झन जटिल छ । पार्टीमा गुटवन्दी र भागवण्डा मिलाएर टिकट बाँड्न देउवासँग समय छैन । उम्मेदवारहरुले जितेर मात्र देउवालाई पुग्दैन, आफ्नो गुटकाहरुले जित्नुपर्छ । यसका लागि टिकट वितरणमै देउवाको पूरै ध्यान जानुपर्ने अवस्था छ ।
कांग्रेसमा वागी उम्मेदवारी समस्या बन्ने गरेको छ । दोस्रो चरणमा पनि वागीहरुलाई व्यवस्थापन गर्न देउवाले समय खर्चनुपर्ने अवस्था छ । जबकि देउवाका लागि चुनावभन्दा प्रधानमन्त्री पदमा आफू पुग्न महत्व र प्राथमिकताको विषय भएको छ । यही कारण उनी चुनाव सार्ने पक्षमा देखिएका छन् । राष्टिय जनता पार्टी (राजपा) का नेताहरुलाई पनि उनले चुनाव सार्ने माग राखिदिन अनुरोध गरिसकेका छन् ।
दाहालको स्वार्थ
प्रधानमन्त्री दाहालले निर्वाचन आयोगका पदाधिकारीहरुलाई बोलाएर चुनाव सार्न भनेका थिए तर उनीहरुले नसकिने जवाफ दिए । यसको पुष्टि निर्वाचन आयोगले नै गरिसकेको छ । दाहालले राजपालाई चुनावमा ल्याउन समय चाहियो भन्दै सार्ने प्रस्ताव राखेका थिए ।
प्रधानमन्त्रीले नै चुनाव सार्नुपर्छ भनेपछि त्यसको राजनीतिक अर्थ मात्र हुँदैन, त्यसको व्यवहारिक असर पनि पर्छ । दाहालले चुनाव सार्न केकस्ता कसरत गरिरहेका छन् भन्ने थाहा हुन सकेको छैन तर निश्चय पनि उनले प्रयास गरिरहेका छन् । दाहालले पनि चुनाव सार्न राजपालाई अगाडि सारेका छन् ।
दोस्रो चरणको चुनाव हुँदा दाहाल प्रधानमन्त्री रहने छैनन्, आफू जति सफल अबको प्रधानमन्त्री नहोस् भन्ने उनको चाहना हुनसक्छ । त्यसैले चुनाव सार्न चाहन्छन् ।
दाहालले चुनाव सार्न चाहनुको अर्काे मुख्य कारण चुनावी तयारी नै हो । पहिलो चरणको चुनावमा माओवादी केन्द्रले एमालेको भन्दा एक तिहाई र कांग्रेसको भन्दा आधाभन्दा थोरै सीट मात्र जितेको छ । माओवादीले अहिलेसम्म एक हजार नौ सय ७७ सिट जितेको छ । माओवादीले राम्रो नतिजा ल्यायो भनेर चर्काे प्रचार भए पनि उसको हालत निकै नाजुक देखिएको छ ।
दोस्रो चरणको चुनावमा दाहाल पूरै सक्रिय भएर लाग्न चाहन्छन् । ठाउँठाउँमा चुनावी सभा गर्न र आफै पुग्न चाहन्छन् । तर, सरकार निर्माण प्रकृयामा सहभागी हुन पर्ने भएकाले उनले समय पाउँदैनन् । त्यसैले उनले चुनाव सार्न आवश्यक देखेका छन् ।
दुवैको साझा स्वार्थ
अधिकांश पार्टीका जिल्लामा मुख्य चुनावी कमाण्डर सांसद नै हुन् । सरकार परिवर्तनका कारण सांसदहरु काठमाडौंमै व्यस्त हुनुपर्ने अवस्था छ । यो वाध्यता प्रतिपक्षी एमालेलाई भन्दा कांग्रेस माओवादीलाई धेरै छ । यी दुई पार्टीका सांसद संसद वैठकमा अनिवार्य उपस्थित हुनुपर्नेछ तर एमालेलाई त्यो वाध्यता हुँदैन । किनभने एमालेले संसदमा बहुमत या निश्चित संख्या प्रदर्शन गर्न पर्दैन ।
देउवा प्रधानमन्त्री बन्नासाथ सत्ता गठवन्धनमा सहभागी नेताहरुको प्राथमिकतामा चुनावभन्दा मन्त्रिमण्डलमा भाग पाउनेमा हुनेछ । मन्त्री बनाउने, मन्त्रालय भागवण्डा गर्ने पेचिलो काममा दुवै पार्टीको विशाल पंक्ति लागिपर्नेछ । जसले गर्दा चुनावमा ध्यान केन्द्रीत हुन सक्ने छैनन् । यसबाट स्वाभाविक रुपमा एमालेलाई फाइदा हुनेछ । किनभने एमाले सरकारमा नहुने भएकाले उसले निर्वाध रुपमा चुनावमा ध्यान केन्द्रित गर्न सक्नेछ ।
राजपालाई चुनावी तयारीका लागि समय दिन पनि चुनाव सार्नुपर्ने अवस्था छ । कांग्रेस माओवादी दुवै पार्टी दोस्रो चरणमा ठाउँठाउँमा राजपासँग तालमेल गर्ने पक्षमा छन् ।
दुवै पार्टीको साझा स्वार्थ चुनाव सार्नुमा छ, त्यसैले चुनाव सार्न अब झन ठूलो प्रयास हुनेछ । तर, खतरा के छ भने चुनाव सर्यो भने टर्ने अवस्था पनि आउन सक्छ, चुनाव नै नहुने परिस्थिति निम्त्याइन पनि सक्छ ।

views: 179


लोकप्रिय समाचार