मुख्य समाचार > बालाजु औद्योगिक क्षेत्रमा उद्योगभन्दा ट्रेडिङ कम्पनी धेरै - सस्तो बहालले तानिए, प्रति रोपनी प्रति वर्ष १६ हजार ५ सय ५७ रुपैंयाँ

बालाजु औद्योगिक क्षेत्रमा उद्योगभन्दा ट्रेडिङ कम्पनी धेरै - सस्तो बहालले तानिए, प्रति रोपनी प्रति वर्ष १६ हजार ५ सय ५७ रुपैंयाँ

काठमाडौँ, ६ असार । काठमाडौं। मुलुककै पहिलो बालाजु औद्योगिक क्षेत्रमा उद्योग होइन ट्रेडिङ कम्पनीले भरिन थालेको छ। अहिले औद्योगिक क्षेत्रमा उद्योगभन्दा अटोमोबाइल कम्पनीको डिलरले भरिभराउ छ। औद्योगिक क्षेत्रमा अहिले १ सय २९ उद्योग मध्ये १२ वटा अटोमोबाइल कम्पनी छन्। यो क्षेत्रमा शोरुम तथा सर्भिस सेन्टर राख्नेहरुमा अशोक एल टी इन्जिनियरिङ सर्भिसेस, आइएमई अटोमोटिभ्स, बालाजु अटो वर्क, दुगड अटो, गुराँस इन्जिनियरिङ, कन्टिनेन्टल कम्पोनेन्ट्स एण्ड सर्भिस, कन्टिनेन्टल सर्भिस प्रालि, नाकासु इन्जिनियरिङ, नेपाल भ्याली इन्जिनियरिङ, पुजा इन्टरनेशनल, सुन्दर प्रोडक्ट एण्ड सर्भिसेस र स्याकार सर्भिसेस प्राली रहेका छन् । यी सबै कम्पनीले सवारी साधन बिक्रीका लागि शोरुम र सर्भिस सेन्टर राखेका छन्। यहाँबाट बस, हेभी इक्विपमेन्ट, वाइक, जीप, कार लगायत सवारी साधनहरु बिक्री तथा मर्मत हुँदैं आएका छन्। सुरुमा कम्पनी दर्ता गर्दा वर्कशप वा मर्मत सम्भार केन्द्र भनेर दर्ता गरिए पनि केही कम्पनीहरुले प्रर्दशनी र बिक्री केन्द्र बनाएका छन्। कार्यालयका एक कर्मचारीका अनुसार अटो कम्पनीसँग वर्कसप स्थापनाका लागि सम्झौता भएको हो। तर यी कम्पनीहरुले बिक्री र शोरुमलाई नै प्राथामिकता दिएका छन्। उद्योग स्थापनाका लागि जग्गानै छैन। ‘केही उद्योगीले उद्योग स्थापनका लागि जग्गा मागिरहेका छन्। तर यहाँ ट्रेडिङ कम्पनीले जग्गा ओगटेर बसेका छन्’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका एक कर्मचारीले भने,’केही उद्योगले क्षमता विस्तारका लागि जग्गा माग गरे पनि पाउन सकेका छैंनन्।’ सस्तो बहालले तानिए ट्रेडिङ कम्पनी बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उत्पादनमूलक उद्योगबाट प्रति रोपनी प्रति वर्ष १६ हजार ५ सय ५७ रुपैंयाँ उठाउँदै आएको छ। औद्योगिक भवनको लागि प्रति वर्ग फूट ३ रुपैंयाँ ७१ पैसा र गोदामका लागि १५ रुपैंयाँ महशुल उठाउँदै आएको व्यवस्थापन कार्यालय प्रमुख भोजराज बिडारीले जानकारी दिए। उनका अनुसार गैर उत्पादनमूलक उद्योगहरुलाई तीन समूहमा विभाजन गरिएको छ। समूह- १ को लागि प्रति वर्ष एक रोपनीको २८ हजार ३ सय ५०, समूह- २ को लागि ४६ हजार र समूह- ३ का लागि १ लाख १५ हजार महशुल कार्यालयले लिदैं आएको छ। यो रकम प्रत्येक दुई वर्षमा १५/ १५ प्रतिशतले वद्धि हुन्छ। अटोमोबाइल्स कम्पनीलाई समूह २ मा राखिएको छ। चक्रपथभित्र गैह्र उत्पादनमूलक उद्योग दर्ताको लागि सुरुमा १ लाख रुपैंया तिर्नु पर्छ। यस्तै जमिन प्रति आना प्रति महिना २ हजार ७ सय ५० लाग्छ। यो रकम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ०७४ माघ १० गते बसेको बैठक निर्णयबाट प्रत्येक वर्ष १० प्रतिशत मात्र वृद्धि हुन्छ। औद्योगिक क्षेत्रभित्र पुर्वाधार विकास सुस्त गतिमा वार्षिक तीन अर्बभन्दा बढी कमाई गर्ने यो क्षेत्रभित्र पुर्वाधारको अवस्था भने दयनीय छ। औद्योगिक क्षेत्रभित्रको सडक विग्रिएको छ। औद्योगिक क्षेत्रभित्रको कमाउण्डभित्रै सवारी गुड्दा सडकबाट धुलो उड्छ। सडकमै रड, बालुवा गिट्टि लगायत निर्माण सामाग्री थुपारिएको छ। कुल ५.३५ किलोमिटर सडकमध्ये ५.२ किमी कालोपत्रे भएको कार्यालयले दाबी गरेको छ। खाली क्षेत्र झाडीले औद्योगिक क्षेत्रको सौन्दर्य नै विग्रिएको छ। ढल व्यवस्थापनमा ध्यान दिइएको छैन। बजेट अभाव भएकै कारण सडक लगायतका पूर्वाधारलाई चुस्त राख्न नसकिएको कार्यालय प्रमुख बिडारी स्वीकार्छन्। सन् १९६० मा स्थापना भएको यस औद्योगिक क्षेत्र ६ सय ७० रोपनी क्षेत्रफलमा फैलिएको छ। क्षेत्रभित्रको ५ सय ४२ रोपनी लिजमा दिइएको छ। कार्यालयले आफ्नै लगानीमा ४४ वटा औद्योगिक भवनसहित २० गोदाम र २३ ग्यारेज निर्माण गरेको छ। पाँच हजार जनालाई रोजगारी प्रदान गरेको यस औद्योगिक क्षेत्रमा निजी क्षेत्रको ४ अर्बभन्दा बढी लगानी छ। सञ्चालनमा १ सय २९ वटा उद्योग रहेकोमा ३ वटा उद्योग बन्द छन् भने नौ वटा उद्योग निर्माणाधीन छन्।

views: 12


लोकप्रिय समाचार