मुख्य समाचार > समयमै काम सक्ने ठेकेदार - ठेक्का सक्दै, पुरस्कार थाप्दै

समयमै काम सक्ने ठेकेदार - ठेक्का सक्दै, पुरस्कार थाप्दै

खिलानाथ ढकाल काठमाडौं, कात्तिक १४ ‘कन्ट्रोल डबल वान।’ समानान्तर निर्माण सेवाका प्रमुख अच्युत खरेल साथीभाइसँग कुरा गरिरहेका थिए। टेबुलमा वाकिटाकी बजिरहेको थियो। वाकिटाकीमै उनले भने ‘हेर्नुस्, हाम्रो कम्पनीको काममा कहीँ कतैबाट नराम्रो खबर नआओस्।’ घरी वाकिटाकीको ‘भोलुम’ बढाउँदै सुन्थे। घरी कानमै वाकिटाकी पुर्‍याउँथे। खरेल प्रायः यही वकिटाकीबाट आफ्नो दैनिक काम कारबाहीको ‘मनिटरिङ’ गरिरहेका थिए। केहीबेर साथीहरूसँग कुराकानीपछि उनी सेतोपाटीसँग कुरा गर्न थाले, ‘मेरो त यही सेटबाट काठमाडौं, भक्तपुर र ललितपुरका साइटहरूमा के भइरहेको छ, जानकारी लिन्छु। निर्देशन दिन्छु।’ बिजुलीबजारस्थित एउटा घरको तेस्रो तल्ला। साधारण कोठा। त्यही साधारण कोठाबाट उनी यही पारामा कामलाई तीब्रता दिन्छन्। करौडौंको काम फत्ते गर्छन्। कामको घन्चमन्चबीच पनि उनी प्रशन्न मुद्रामा भेटिए। उज्यालो, थकानरहित अनुहार। गत भदौमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय निर्माणको ठेक्का विवादित कम्पनी पप्पु कन्स्ट्रक्सनले पायो, सबैभन्दा कम रकममा दाबी गरेकाले। खरेलको समानान्तर निर्माण दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो। २ अर्ब ६ करोड ८८ लाख रुपैयाँ कबोल गरेपछि पुनर्निर्माण प्राधिकरणले पप्पुलाई ठेक्का दिने तयारी गरेको थियो। विशेष अदालतमा भ्रष्टाचार मुद्दा लागेसँगै पप्पुले ठेक्का पाउने-नपाउने अनिश्चित छ। पुनर्निर्माण प्राधिकरणले सो ठेक्काको निर्णय गर्न फाइल मन्त्रिपरिषदमा पठाएको छ। समानान्तरले सो भवन बनाउन पप्पुको भन्दा दुई करोड दस लाख कम अर्थात् दुई अर्ब आठ करोड ९८ लाख कबोल गरेको थियो। भवन निर्माणमा तीब्र काम सक्ने छवि बनाएको सामान्तरले राष्ट्र बैंकको भवन पाएको भए २२ महिनामा सक्ने योजना बनाएको थियो। साढे दुई वर्षको राष्ट्र बैंक निर्माण ठेक्का अवधि खरेल २२ महिनामा सिध्याउन चाहन्थे। यसबाट २० करोड पुरस्कार दाबी गर्थे। सामानान्तर निर्माणले यसअघि काठमाडौं उपत्यका विकास प्राधिकरणको भवन निर्माणको ठेक्का पाएको थियो। २० करोडको ठेक्काको उक्त भवन निर्माण अवधिभन्दा एक वर्षअघि नै हस्तान्तरण भएपछि समानान्तर पुरस्कारका लागि सिफारिस भएको छ। समयअगावै निर्माण सकेर हस्तान्तरण गरेकोले समानान्तरलाई ठेक्का सम्झौताको १० प्रतिशत पुरस्कार दिने निर्णय गरी प्राधिकरणले अर्थ मन्त्रालयमा सिफारिस गरेको छ। यस अनुसार समानान्तरले २ करोड ६ लाख पुरस्कार पाउनेछ। सार्वजनिक खरिद ऐनको पहिलो संशोधन २०७३ मा दण्ड र पुरस्कारका दुई व्यवस्था छन्। समयअगावै काम सक्ने कम्पनीलाई १० प्रतिशत पुरस्कार दिने व्यवस्था ऐनमा छ। दोस्रो, समय गुजार्नेलाई १० प्रतिशत दण्ड व्यवस्था छ। संशोधित ऐनपछि सामानान्तर समयअगावै काम सक्ने कम्पनी कहलिएर पुरस्कारमा सिफारिस भएको नेपालको सम्भवतः पहिलो ठूलो कम्पनी हो। अर्थ मन्त्रालयले भने पुरस्कारबारे अहिलेसम्म निर्णय गरिसकेको छैन। ‘निर्माण क्षेत्रमा यही कमजोरी छ, राम्रो गर्नेलाई पुरस्कार दिन हिच्किचाउने, नराम्रो गर्नेलाई दण्ड दिन हिच्किचाउने,’ खरेलले भने, ‘पुरस्कार नपाए पनि मेरो लक्ष्य सके समय अवधिअघि, नसके समयमै गुणस्तरीय काम गरेर देखाउने हो।’ निर्माण क्षेत्रमा पुरस्कार पाउने कम्पनीको नाम खासै सुनिएको छैन। समयभन्दा अगाडि काम सकेर पुरस्कार दाबी गर्ने खरेल निर्माण क्षेत्रका बिरलै ठेकेदारमध्ये एक हुन्। काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारी भन्छन्, ‘हाम्रो कार्यालयले महिनाको चार लाख रुपैयाँ भाडा तिरिरहेको थियो, समानान्तरले सम्झौता अवधिभन्दा ११ महिनाअघि भवन दियो। भवन निर्माण क्षेत्रमा उत्कृष्ट देखिएकाले नै मैले पुरस्कार सिफारिस गरेको हुँ। खरिद ऐनकै व्यवस्थाअनुसार पुरस्कार सिफारिस गरेको हुँ।’ भवन निर्माण क्षेत्रमा खरेलको समानान्तर कम्पनीले आधिकारिक रुपमा पाएको यो पहिलो पुरस्कार हो। यस्ता पुरस्कार दाबी गर्ने कामको सूची आफूसँग थुप्रै भएको समानान्तरका प्रमुख खरेल बताउँछन्। पचास करोडको सहिद गंगालाल हृदयरोग केन्द्रको भवन समानान्तरले समयअगाबै सकाएको छ। अर्को भदौसम्म म्याद भएको उक्त भवन निर्माण सम्पन्न भइसकेको छ। ‘मंसिरमा ह्याण्डओभर हुँदैछ, यसमा मेरो दस प्रतिशत पुरस्कार सुरक्षित छ,’ खरेलले भने। सिंहदरबारभित्र रक्षा मन्त्रालयको २० करोडको भवन आगामी चैतमा हस्तान्तरण हुँदैछ। समयावधिको एक वर्षअगावै हस्तान्तरण हुन लागेको उक्त भवनबाट पनि दस प्रतिशत पुरस्कार दाबी समानान्तरले गर्दैछ। परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित भवन १०८ करोडमा निर्माण सुरू हुने भएको छ। चैत ६ गते औपचारिक सम्झौता हुँदैछ। यो भवन समयअगावै सक्ने समानान्तरको योजना छ। ७० करोडको महान्यायाधिवक्ता कार्यालय भवन निर्माणको काम अर्को वर्षको असार मसान्तसम्म सक्ने योजना छ। भर्खर सुरु भएको यो कार्यालय साढे दुई वर्षमा सक्ने सम्झौता हो। सिद्धार्थ बैंक केन्द्रीय भवन निर्माण सकिएको छ। १८ महिनाको काम सामानान्तरले ११ महिनामा सकेको छ। जल तथा मौसम विज्ञान विभागको भवन सकिने अवस्थामा छ। विभागकै ढिलाइका कारण उसको भवन निर्माण चाहिँ समयमै मात्र सकिने जानकारी खरेलले दिए। सानो गौचरणस्थित डिभिजन भवन विमागको कार्यालयको ठेक्का पनि सामानान्तरसँग छ। फागुन वा चैतसम्ममा समयमै सक्ने योजना यो कम्पनीको छ। कम कबोल गर्ने कम्पनीमध्ये समानान्तर पनि एक हो। निर्माण क्षेत्रमा कम कबोल गरेर समयमा काम नगर्ने, गुणस्तरहीन गर्ने कम्पनीहरूको धेरै छन्। ‘तर, सामानान्तर हातमा ठेक्का पनि लिने, समयमै पनि सकाउने र गुणस्तरीय काम गरेर देखाउने कम्पनी पनि हो,’ खरेलले दाबी गरे। ‘पचास वटाजति ठूला भवन निर्माण गरेँ, त्यत्रो महाभूकम्पमा एक ठाउँबाट पनि गुनासो आएन। यदि आएछ भने म यो क्षेत्रबाट हात धुन्छु,’ आफ्नो कामबारे खरेलले आत्मविश्वासका साथ भने। राष्ट्रपति भवनl तस्बिर सौजन्य : अच्युत खरेल ‘हालसम्म जति भवन निर्माण गरेँ,’ खरेलले भने, ‘सबैभन्दा राम्रो शीतल निवासको पछाडिपट्टि बनेको राष्ट्रपति निवास नै हो।’ ६८ करोड लागतमा दुई पटक गरेर उनले समयमै राष्ट्रपति भवन हस्तान्तरण गरेका थिए। ‘यस्तो राम्रो भवन त मैले अहिलेसम्म बनाएकै थिएनँ,’ उनले भने। समयमै काम सक्नु र पुरस्कार दाबी गर्नुमा उनका केही सूत्र छन्। पहिलो, उनको व्यवस्थापकीय पक्ष बलियो छ। हरेक भवन निर्माणमा उनले व्यवस्थापक नियुक्ति गरेका छन्। ती व्यवस्थापकलाई समयमै काम सक्न प्रोत्साहित गर्छन्। निर्माणमा आवश्यक पर्ने सबै चिज जुटाइदिन्छन्। दोस्रो, कामदार र सप्लायर्समा लगानी गर्छन्। जुन भवनको ठेक्का लिएको हो, त्यो भवन समयमै सक्न निर्माण सामग्री खरिद र कामदारलाई अगाडि नै पैसा दिन्छन्। ‘अग्रिम पैसा भुक्तानी पाएपछि कामदार पनि हौसिएर लाग्छन्, सप्लायर्सले तु सामान ल्याइदिन्छ,’ उनी भन्छन्। तेस्रो, कम्पनीको प्राविधिक पक्ष कमजोर रहेकाले उनी ‘ज्वाइन्ट भेन्चर’ ‘बिड’ गर्छन्। र, आफूसँग ‘बिड’ गर्ने कम्पनीलाई कस्छन्। ‘ज्वाइन्ट भेन्चर’ बराबरी साझेदारजस्तै हो। यदि, समयमा काम नसके हात झिक्ने चेतावनी दिन्छन्। ‘यसो भएपछि ज्वाइन्ट बिड गर्नेलाई छिटो काम सक्न दबाब हुन्छ, नत्र ऊ पनि कारबाहीको बराबरी भागिदार हुन्छ। म भागे पनि ऊ त भाग्न पाउँदैन,’ खरेल भन्छन्। उनका अनुसार नेपालमा कहलिएका कुनै पनि कम्पनीको प्राविधिक पक्ष बलियो छैन। सबैले ‘ज्वाइन्ट बिड’ नै गर्ने गरेका छन्। ‘तर, म एउटाको काम लिएर त्यही पैसा अर्कोमा खर्च गर्दिनँ, यसो भएपछि आर्थिक पक्ष बलियो बन्छ,’ उनले भने, ‘जुन ठेक्का लिन्छु, तत् काममा मात्र खर्च गर्छु, रकमान्तर हुन नै दिन्नँ, समयमै काम सक्ने कडी यो पनि हो।’ तेस्रो, उनी प्राविधिक स्रोतसाधनलाई परिचालन गर्न खप्पिस छन्। उनलाई ढलानका बखत स्रोतसाधन अधिक चाहिन्छ। उनी सबैतिर छुट्टाछुट्टै ढलानको समय तालिका मिलाउँछन्। ‘आज एकातिर प्राविधिक स्रोतसाधन प्रयोग हुन्छ, त्यही स्रोतसाधन उठाएर भोलि अर्कोमा ढलान गर्छु,’ उनले भने, ‘मेरो कम्पनीको प्राविधिक पक्ष कमजोर भए पनि मलाई प्राविधिक स्रोतसाधनलाई प्रयोग गर्न समस्या परेको छैन।’ उनका अनुसार एउटा कामको जिम्मा लिने, त्यही पैसा अन्यत्र खर्च गर्ने, कमजोर व्यवस्थापन र पढेलेखेका मान्छेको निर्माण क्षेत्रमा उपस्थिति कम भएका कारण ढिलाइ हुने गरेका छन्। व्यवस्थापकीय पक्ष बलियो बनाउने र जिम्मेवारीबोध हुनेवित्तिकै निर्माण क्षेत्रमा समस्या आउन नसक्ने उनको बुझाइ छ। खरेलका अनुसार नेपालमा निर्माण सामग्रीको अभाव छ। समयमा रड, सिमेन्ट, ढुंगा–गिट्टी, बालुवालगायत सामान आपूर्ति हुँदैन। निर्माणको काममा ढिलो हुने यो एउटा प्रमुख कारण हो। तर, यसैभित्रको मूल कारण भने ठेकेदार कम्पनी हो। समयमा भुक्तानी गर्न नसक्नु कमजोरी हो। जुन कामको लागि ठेक्का लिएको हो त्यही कामका लागि खर्च गर्ने हो भने यो समस्याबाट सजिलै पार पाइने उनी बताउँछन्। ‘निर्माण सामग्रीमा तलमाथि नहोस् भनेर म आफैं दोलालघाटमा क्रसर उद्योग खोल्दैछु,’ उनले भने, ‘त्यसपछि त म आफ्नै क्रसरबाट निर्माण सामग्री ल्याएर साइटमा थुपारिदिन सक्छु।’ काभ्रे खरेलथोक पाँचखालका ४७ वर्षीय खरेल निर्माण क्षेत्रमा औपचारिक रुपमा छिरेको २०५१ सालमा हो। काभ्रेमै प्राथमिक र निम्न माध्यमिक तह तहको शिक्षा पूरा गरेर उनी माध्यमिक तह पढ्न काठमाडौं आएका थिए। हुने खाने वर्गको भए पनि उनी कक्षा-९ मा डिल्लीबजारस्थित विजय मेमोरियल सरकारी स्कुलमा भर्ना भए। विजय मेमोरियलबाट नेपाल कमर्स क्याम्पसमा आइकम, बिकम गरेपछि उनी व्यवसाय क्षेत्रमा लागेका हुन्। सुरूमा उनी शंखमुलस्थित चन्द्र–तारा गलैंचा उद्योगमा २५ प्रतिशत सेयर हालेर व्यवसायी बनेका थिए। दस वटा मेसिन थिए। साधारण आम्दानी हुन्थ्यो। त्यसपछि महाबौद्ध ओटुस्थित लुगा–कपाडा सिलाइ उद्योगमा हात हाले। गोमा ज्याकेट त्यतिबेला महाबौद्ध र राजधानीका अन्य क्षेत्रमा निकै ‘लोकप्रिय’ बनेको खरेल बताउँछन्। यति गर्दा उनी आफैं दुई–तीन लाख लगानी गर्नसक्ने भइसकेका थिए। यसपछि खरेल परिवारको दर्बिलो आर्थिक सहायताको सहयोग लिँदै निर्माण क्षेत्रमा हाम्फाल्ने निचोडमा पुगे। २०५१ साल असोजमा समानान्तर निर्माण कम्पनी दर्ता गरे। कम्पनी दर्तापछि उनले पहिलोपटक काठमाडौं जिल्ला खानेपानीको ठेक्का लिएका थिए। त्यसबेला २० देखि ५० र एक लाखसम्मको काम कोटेसनमै पाइन्थ्यो। विस्तारै लगानी बढाउँदै रिजर्ब ट्यांकी, इन्टेक प्रोटेक्सनको काममा हात हाले। २०५३ सालमा १५ लाखमा मीनभवन क्याम्पसको एउटा भवन बनाउने ठेक्का हात लाग्यो। बीचमा साना–साना ठेक्का लिँदै काम गरिरहेकै थिए। २०५५ सालमा मीनभवनकै भवन निर्माणमा ५५ लाखको ठेक्का पाए। खरेलका अनुसार त्यसबेला ठेक्का हात पार्न सजिलो थियो। अहिलेजस्तो एउटै ठेक्कामा सयौंको ‘तँछाडमछाड’ हुँदैनथ्यो। ‘पाँच–सात जना आवेदक हुन्थे, प्रतिस्पर्धामा छनोट हुन सजिलो थियो,’ उनले भने, ‘अहिले एउटै ठेक्कामा दर्जनौं प्रतिस्पर्धी हुन्छन्, राम्रालाई भन्दा हाम्रालाई बढी जोड दिइन्छ, त्यसैकारण निर्माण क्षेत्रमा विकृति फैलिन थालेको हो।’ दर्ता हुँदा ‘घ’ वर्गको कम्पनी ५७ सालमा ‘ग’ श्रेणीमा पर्‍यो। त्यसपछि भने उनको व्यावसायिक सफलता उकालो लाग्न थालेको हो। २०६२ सालमा ‘क’ वर्गमा परेपछि भने कम्पनी करौडौंमा ‘बिड’ गर्न सक्षम भएको उनी बताउँछन्। ‘भवन निर्माणमै किन?,’ प्रश्न गरेपछि खरेलले एकछिन सोचे। ‘हेर्नुहोस्, आफू जुन काममा सफल भइन्छ त्यही गर्ने हो,’ उनले उत्तर दिए। खरेलका अनुसार भवन निर्माण क्षेत्रमा भिजियो, यसैमा सफलता बढ्दै गयो। ‘मलाई भवन निर्माणमा रस पसिसकेको छ, अर्को कुनै नयाँ काममा तत्कालै हात हाल्न चाहन्न,’ उनले भने। उनले विद्यमान निर्माण क्षेत्रको विकृतिमाथि कटाक्ष गरे। यी सब हुनुमा सरकारकै लापरबाही भएको उनको दाबी छ। काम हेरेर ठेक्का दिइनुपर्ने उनको भनाइ छ। ‘जसको सूचकांकै खराब छ, त्यसैलाई पर्ने गरी बोलपत्र आह्वान गरेपछि म जस्ता ठेकेदार दोस्रो नम्बरमा पर्नु सामान्य हो,’ उनले भने, ‘मलाई ठेक्का दिनुअघि मेरो पाँच वर्षे सूचकांक हेरियोस्, म फेल भएँ भने निर्माण क्षेत्रको काम छोडिदिन्छु।’ कतिपय सन्दर्भमा सार्वजनिक खरिद ऐन पनि केही ठूला निर्माण व्यवसायीको पक्षमा देखिने गरेको उनले बताए। ‘हाम्रो कानुन नै कमजोर छ, म पनि लो बिड गर्ने ठेकेदार हुँ, मेरो सूचकांक खराब छ भने मैले ठेक्का पाउन हुँदैन,’ उनले भने, ‘जसको सूचकांक खराब छ, त्यसैलाई ठेक्का पर्ने गरी बोलपत्र बनाउने प्रवृत्ति व्यापक छ, यस्तो भएपछि राम्रो काम गर्ने ठेकेदारहरु निरुत्साहित हुन्छन्।’

views: 14


लोकप्रिय समाचार