मुख्य समाचार > फिफा वर्ष खेलाडी अवार्ड - रोनाल्डो, लुका र सालह अन्तिम तीनमा, मेस्सी अटाएनन्

फिफा वर्ष खेलाडी अवार्ड - रोनाल्डो, लुका र सालह अन्तिम तीनमा, मेस्सी अटाएनन्

२०७५ भदौ १९, मङ्लबार विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने फिफा वर्ष खेलाडी अवार्डका लागि साबिक विजेता क्रिष्टियानो रोनाल्डोसहित लुका मोड्रिक र मोहम्मद सालह अन्तिम मनोनयनमा परेका छन् । फिफाले पुरुष वर्ष खेलाडी २०१८ का लागि अन्तिम मनोनयन सोमबार सार्वजनिक गरेको हो । अन्तिम तीनको मनोनयनमा पाँच पटकका बालोन डी’ओर विजेता अर्जेन्टिना तथा बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी परेका छैनन् । यस्तै गएको जुलाईमा सम्पन्न विश्वकप फुटबलको उपाधि जितेको टिम फ्रान्सका कुनै खेलाडीले पनि अन्तिम तीनमा स्थान बनाउन सकेनन् । महिला वर्ष खेलाडीका लागि महिला च्याम्पियन्स लिग विजेता टिम लियोनकी नर्वेली एडा हेगरबर्ग र जर्मनीकी डिज्सेनिफर मारोज्सान र ब्राजिलकी मार्ता अन्तिम तीनमा परेका छन् । पोर्चुगलका वेङ्गर रोनाल्डोले फिफा वर्ष खेलाडी अवार्ड सन् २०१६ र २०१७ मा जितेका छन् । उनले गएको सिजन पाँचौँ च्याम्पियन्स लिग उपाधि रियल मड्रिडबाट जितेका थिए । उनी यहि सिजन ११२ मिलियन युरोमा रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस गएका छन् । रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिक रुसमा भएको विश्वकपमा प्लेअर अफ दि टुर्नामेन्ट भएका थिए । उनको टिम क्रोएसिया फाइनलसम्म पुगेको थियो । यस्तै इजिप्टका फरवार्ड सालहले गएको सिजन ४४ गोल गरेका थिए । उनको टिम लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । गएको हप्ता रोनाल्डो र सालहलाई पछि पार्दै मोड्रिकले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका थिए । विश्वकपमा धेरै गोल गर्दै गोल्डेन बुट जितेका इंग्ल्याण्डका स्ट्राइकर ह्यारी केन १० खेलाडीको मनोनयनमा परेका थिए, तर अन्तिम तीनमा उनले पनि स्थान बनाउन सकेनन् । प्रशिक्षकतर्फ फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडिएर डेसच्याम्पस, क्रोएसियाका ज्लाट्को डालिक र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान अन्तिम मनोनयनमा परेका छन् । सन् २०१६ मा फिफाले फ्रेन्च फुटबल म्यागजिनसँगको सहकार्य अन्त्य गरेपछि बोलोन डी’आर र फिफा वर्ष खेलाडी छुट्टिएका हुन् । फिफाले गठन गरेको लेजेण्ड तथा विशेषज्ञको प्यानलले हरेक विधामा १० जना मनोनयन गरेको थियो । अब राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक, छानिएका पत्रकार र फ्यानको मतका आधारमा विजेता छानिनेछ । कप्तान, प्रशिक्षक, पत्रकार र फ्यानको मतले २५–२५ प्रतिशत भार राख्छ । रोनाल्डोले युभेन्टस विरुद्ध गरेको ओभरहेड किक र ग्यारेथ बेलले लिभरपुल विरुद्ध गरेको ओभरहेड किक पुस्कास अवार्डका लागि मनोनयनमा परेका १० उत्कृष्ट गोल मध्ये परेका छन् । विजेताको घोषणा सेप्टेम्बर २४ मा रोयल फेस्टिभल हल लण्डनमा हुनेछ ।

views: 23


लोकप्रिय समाचार