मुख्य समाचार > करिश्मा मानन्धर भर्सन–टू

करिश्मा मानन्धर भर्सन–टू

२०७५ भदौ १९, मङ्लबार - सुजाता खत्री वि.सं. २०४४ सालमा ‘सन्तान’ चलचित्र प्रर्दशन भएपछि नेपाली चलचित्र जगतमा एक नायिकाको नाम थपियो, ‘करिश्मा मानन्धर ।’ १५ वर्षकी कलिली युवतीले चलचित्र नगरीमा पाइला टेकेपछि ठूलै तहल्का मच्चियो। च्लचित्रमा केही नयाँ काम गरेर चर्चा र आलोचनासँगै उनको २५ वर्ष यसमै बित्यो । पहिलो पटक क्लिभेज देखाएर र बेड सिन दिएर करिश्माले आफूलाई बोल्ड नायिकाको रुपमा त्यतिबेला नै प्रमाणित गरिन्, जतिबेला चलचित्रमा यस्ता दृश्यलाई सजिलै पचाईँदैनथ्यो। अभिनय कला र रुपको सौन्दर्यले सदाबहार नायिकाको ट्याग पाएकी करिश्माले अहिले पनि समाजलाई चुनौती दिने काम गरेकी छन् । धेरै कुरा गर्ने, हौसला दिने भन्दा निरुत्साहित पार्ने । तर यो याद भइरहने प्रयास भने पक्कै हो । उनी ४६ वर्षको उमेरमा कक्षा १० मा पढ्दैछिन्, त्यो पनि विद्यालय नियमित गएर। हेमन्त रानाले गीत ‘साइँली’ मा ‘४० कटेसी रमाउँला’ भनेका छन्। नायिका करिश्माले करियर राम्रो बनाउने, विवाह, विदेशको बसाई, सन्तान हुर्काउने जस्ता व्यवहारलाई पार लगाइ सकिन्। अहिले पृथक बाटोमा उनको कदम लम्किएको छ। २०७५ साल उनी लगातार विद्यालय जान थालेको चौथो वर्ष हो। करिश्माका अनुसार उनको पढाई कक्षा ७ को बिचमा नै छुटेको थियो। झण्डै तीन दशकपछि उनी फेरि कक्षा ७ मा नै भर्ना भइन्। मैतीदेवीको त्रिवेणी पब्लिक हाइ स्कूलको एउटा कोठामा एक्लै बसेर टुटेको पढाईको धागोलाई जोड्ने प्रयासमा लागिन्, त्यो पनि गाँठो नदेखिने गरी । करिश्मा स्कूल जाने भन्दा ‘मिडिया प्रचारवाजी’ गर्न खोजेको नभन्ने कमै थिए। ‘विनोदलाई पनि विश्वास लागको थिएन म स्कूल जान्छु भन्दा।’ श्रीमानको विश्वास पनि मुश्किलले जितेको अनुभव उनले सुनाइन्। स्कूलका प्रधान्याध्यापक वाङ्देन लामाले पनि सुरुमा करिश्माको स्कूलप्रतिको लगावलाई प्रचारवाजी नै ठाने। तर करिश्माको लगनशीलताले उनको अनुमानलाई गलत साबित गर्‍यो। उनी पढ्न थालिन्, नबुझेको कुरा सोध्न थालिन्। कक्षा ८ मा उनी अरु बालबालिकाहरुसँग एउटै कक्षामा एउटै बेञ्चमा बसिन्। उनको बेञ्च पार्टनर कक्षाको फस्ट ब्वाई हुन्। यो वर्ष उनी एसइई परीक्षा दिने तयारीमा छिन्। उनको दैनिकी अलि व्यस्त छ। उनीसँग केही समय अगाडि भेट्ने समय मिलाउन फोनमा कुरा गर्दा पनि हतारमा सुनिन्थिन्। ‘मेरो समय नै हुँदैन, बिहान कोचिङ्, दिनभरि स्कूल, बेलुका ट्युशन, होमवर्क हुन्छ, एक्सरसाइज पनि गर्न पर्‍यो। बाहिर निस्कन, कसैलाई भेट्न त शनिबार नै कुर्नु पर्छ।’ … ललितपुरको टौखेल चोक, रातो रंगको तीन तले घर। बाटोपट्टी फर्किएका भुर्इँ तलाका कोठाहरु सबैको सटर खुलेका छैनन्। त्यहि लस्करमा लाइन लागेको हरियो गेटमा केबी सिने भिलेज स्टूडियो लेखिएको छ। यो करिश्माको घर हो। जो अहिले स्कूल जान्छिन्। सन् २०१६ मा बलिउडको चलचित्र ‘निल बटे सन्नाटा’ ले मनछुने अभिनयसहितको सन्देश बाँड्यो, ‘शिक्षाको महत्व’ अभिनेत्री स्वरा भास्कर कक्षा १० मा पढ्दै गरेकी छोरीसँग स्कूल जान्छिन्। छोरीको पढाईमा रुची जगाउनलाई आफ्नो १० कक्षाको छुटेको पढाईलाई निरन्तरता दिएको प्रयासको अभिनय चलचित्रले झल्काएको छ। करिश्माको र स्वराको पेशामा समानता ‘अभिनय’ हो। तर नायिका करिश्मा साच्चै नै स्कूल गएकी छन्, अभिनय गर्न होइन्। चलचित्रकी ‘आमा पात्र’ स्वरा बिहान उठेर काम भ्याएर स्कूल जान्छिन्। स्कूलपछिको उनको व्यस्ततालाई पनि चलचित्रमा देखाइएको छ। हामीले पनि नायिका करिश्मा मानन्धरको एक दिनको दैनिकीलाई नियालेका छौँ। बिहान ६ बजे तीन तलाको घरको सबैभन्दा माथिल्लो तलामा करिश्मा एक्सरसाइज गर्दैगर्दा भेटिइन्। डबल बेडको पलङ्ग, बिस्तारा मिलाइएको थिएन, खाटको तलपट्टि उभिएको दराजको ढोका खोलिएका थिए। अगाडि टेबलमा किताबकापी छरिएका। केही चाङ्गमा मिलेका पनि। उनको एक्सरसाइज सकियो। ‘म त सधैँ ५ बजे उठ्छु, अहिले मैले पानी, चिया खाइसकेँ।’ त्यसपछि उनी भटाभट टेबलको किताबकापी मिलाउन थालिन्। उनको ब्याग टनाटन भरियो। ‘हरेक विषयको क्लास वर्क र होम वर्क कपी हुन्छ’ हाँस्दै उनले भनिन्, ‘हातलाई सारै लोड पर्छ, सबै विषयको किताब लैजान नै पर्छ।’ त्यसपछि उनी मेक अप गर्न थालिन्, श्रृंगार उनलाई सारै मनपर्छ रे। ‘अब स्कूल जाँदा धेरै मेकअप गर्न हुँदैन, गाजल र हल्का लिपस्टक लगाउँछु तर एकदमै कम।’ स्कूलमा विद्यार्थीलाई धेरै फरक नलागोस् भन्नको लागि उनी सामान्य श्रृंगार गर्छिन्। उनलाई कसैले आफूले मेकअप गरेको हे¥यो भने अप्ठ्यारो लाग्छ रे, ‘यस्तो भो भने मेरो मेकअप बिग्रिहाल्छ।’ नमिलेको गाजल पुछ्दै उनले भनिन्। केही समय अगाडिका कुरा चलचित्रमा अभिनय गर्दा गर्दै उनलाई मेकअपको पनि आइडिया आइसकेको थियो। त्यसैले धेरै जसो मेकअप उनी आफैले गर्ने गरेको उनी बताउछिन्। ‘तपाईको सुन्दरताले गर्दा तपाईलाई सदाबहार नायिका भन्छन् है.. भन्दा उनले जवाफ दिइन्, ‘बुढेसकाल लाग्ने बेला भईसक्यो…’, अनि ठूलो हाँसो। विद्यालयको पोशाक लगाउछिन्। निलो र सेतो रंगको धर्के सर्ट अनि खरानी र फिक्का कालो पाइन्ट। आइडिकार्ड पनि झुण्डाइएको छ। घाँटीसम्म आउने आधा कपाललाई अलिमाथिसम्म पुर्‍याउँछिन् र गुजुल्टाउछिन्। बिहान ७ बजे यति गरिसक्दा बिहानको ७ बजिसक्छ। उनी एक तला झरेर सरासर भान्छातिर जान्छिन्। भर्‍याङ्ग उक्लँदै गर्दा देब्रे पट्टि सिटिङ रुम, डाइनिङ्ग रुम छिचोलेपछि मात्र किचेन रुम आउँछ। डाइनिङ्गको एउटा कुनामा छ उनको भगवानको घर। हो, करिश्मा हिन्दु हुन्। उनी भगवानको अगाडि लोटामा राखेको पानी फेर्न थालिन्। धुप बत्ति बालेर आरती गर्न थालिन्, घण्टी बजाएर। उनी भगवानप्रति आस्था राख्छिन्। उनको घाँटीमा क्रिस्टलको माला पनि छ। ‘दुर्घटना हुन्न रे भनेर लगाएको’ करिश्माले माला पहिरिनुको औचित्य सुनाइन्। ‘म प्राय बे्रकफास्ट खानु अगाडि भगवानको आरती गर्छु। धेरैजसो घर बस्ने कपडामा नै, तर कहिले काँही स्कूल युनिफर्ममा नै पूजाआजा हुन्छ।’ उनको घरमा भएकी सहयोगीको नाम ‘बसन्ती’ रहेछ। करिश्माले पनि कुनै समय यहि पात्रमा अभिनय गरिसकेकी छन्। ‘चलचित्रको पात्र बसन्ती कति पीडित, अहिलेको बसन्ती पढेलेखेको छ, जव गर्छ। त्यो एकदमै दुःखी पात्र थिई। कुनै व्यक्तिले लुकाएर जंगलमा थुनेर राखेको थियो।’ उनको लागि कचौरोमा ओट्स, गिलासमा दूध, अनि एउटा उसिनेको अण्डासहितको ब्रेकफास्ट तयार छ, सहयोगी बसन्तीले ठिक्क बनाएर राखेको। गाईको दूध उनलाई धेरै मन पर्छ, घरभन्दा अलि अगाडि आफ्नै कुखुरा फर्ममा उत्पादन भएको अण्डा खान्छिन्। बसन्ती करिश्माको लागि दिउँसोको खाना तयार गर्दैछिन्। बिहान ७ : ३० बजे स्कूल लैजाने खाना तयार भयो। करिश्माको सहयोगीले चना, फर्सिको मुन्टा अलिकति भात र सलादसहितको खानाको डब्बा तयार पारिन्। उनी एक छाक मात्र भात, दाल, तरकारी खान्छिन्, ‘बेलुका हलुका खाना हुन्छ, मकै भटमास पनि खान्छु।’ सामान्यतया विद्यालयको लागि निस्कने समय ७ : ४५ हो, केही समय बाँकि रहेकोले उनी हामीसँग गफिइन्। ‘म अलि नक्कली नै छु, स्कूल जाने भनेपछि लामो कपाल काटेर थाइकट बनाएँ। सजिलो भएको छ। श्रृंगार महिलाको ३२ गुण मध्ये एक हो, मेकअप गर्न पाईँदैन भनेर अलि अलि चिन्ता पनि लाग्या हो’ उनी केही लजाउँदै हाँसिन्, ‘अलिकति गारो त हुन्छ, यो मेरो कामसँग मेरो जीवनसँग पनि जोडिएको कुरा हो तर ठीकै छ।’ ‘बच्चासँग बस्दा म पनि बच्चा जस्तै भएँ’ यसो भनिरहँदा उनको अनुहारमा उत्साह देखिन्थ्यो । ‘आज स्कूलमा टिचर पढाउन आउनु भएको छैन भन्ने थाहा पाए भने खुशी लाग्छ भन्या, पछि लौ के भई रहेको मलाई जस्तो लाग्छ। भोलि छुट्टी रे भन्दा ‘ए हो र’ जस्तो लाग्छ।’ करिश्मा पहिलाको जीवनको व्यस्तता र अहिलेको पाइने फुर्सदलाई जोड्न थालिन। ‘तीन तीन वटा मुभि एकै समयमा भईरहेको हुन्थ्यो, धेरै व्यस्थ हुन्थेँ। तर अब एक दिन छुट्टि भयो भने म आफूलाई समय दिन भ्याउँथे, कपालमा तेल हाल्न भ्याउँथे जस्तो लाग्छ। संगीत पनि सुन्छु ।’ उनी सबै किसिमको गीत सुन्छिन्, मुड, समयमा भर पर्छ। हामी बिहान उनको कोठामा पुग्दा पियानोको धुन बजिरहेको थियो। किन गइन् स्कूल ? उमेरले ४० काटेपछि उनलाई स्कूल जान मन लाग्यो, उनले आफ्नो करियरलाई यता मोडिन्। चलचित्रमा पात्र बनेर नउभिएपनि उनी यहि सम्बन्धी केही अरु काम गर्दै थिइन्, उनले निर्माण गरेका चलचित्र व्यावसायिक रुपमा त्यति सफल हुन सकेनन्। उनी छोरीको करियरको बारेमा पनि सोच्दै छिन्। विद्यालय जाने कुरा संभव छ जस्तो लागेको थिएन। स्कूले उमेरमा नै काम गर्न थालेकी हुन्। ‘मलाई सपनामा त्यो स्कूले बच्चाले धेरै पच्छ्यो, स्कूल गएको बेञ्चमा बसेको, परीक्षा दिएको।’ करिश्माले दुनिया देखिन्। नेपालमा चलेको हिरोइन् भइन्, सन् २०१० बाट केही वर्षको अमेरिका बसाई। राजनीतिक संलग्नता। तर स्कूल जाने मोह भने छुट्नै सकेन। उनले यो भावना साथी गोबिन्द राईसँग साटिन्। ‘यो सम्भव छ?’ करिश्माले विद्यालयमा नै गएर पढ्ने विचारसहित भनिन् र त्रिवेणी पब्लिक स्कूलमा उनी भर्ना भइन्। ‘पार्टिमा आवद्ध भएपछि गाउँ गाउँ पुग्ने मौका पाएँ, महिला अशिक्षाको कारणले पछि परेको जस्तो लाग्यो। सरकार, गैरसरकारी संस्थाले पनि जनचेतना फैलाउने काम गरिरहेका छन्। तर मलाई विद्यालय जानुपर्छ भन्ने सन्देश पनि दिनु छ र आफूलाई पनि पढ्नु छ।’ पहिलो पटक छोरी कवितालाई सुनाउँदा उनी खुसी भइन्, विनोद मानन्धरले तिमि जे मा खुशी हुन्छौ त्यहि गर भने। करिश्मा छोरी कहिले काँहि नेपाल आएको बेलामा प्रोजेक्ट वर्क, विज्ञान सम्बन्धी केही समस्या हल गर्न छोरीको सहयोग लिन्छिन्। ७ बजेर ४० मिनेट गएपछि करिश्मा स्कूलको लागि निस्किइन्। सहयोगीले व्याग गाडीमा राखिदिए। उनी आफै गाडी चलाएर स्कूल जान्छिन्। उनको स्कूल मैतिदेवि कम्प्लेक्सबाट अलिकति भित्र छ। उनको घर गादावरी, स्कूल मैतीदेवि । टाढा छ। जाम नपरी जाँदा १ घण्टाको बाटो छ। बिहानको ८ः४५ बजे त्रिवेणी पब्लिक हाइ स्कूलको गेट। विद्यालयको पोशाकमा सजिएका विद्यार्थीहरु। उनीहरु बोलेको, खेलेको, दौडिएको आवाज। करिश्मा पांग्रा भएको सुटकेश व्याग गुडाउँदै, एक हातमा टिफिन ब्याग बोकेर गेट भित्र छिरिन्। कोही कोही उनलाई ‘गुड मर्निङ्ग म्याम’ पनि भन्दै थिए, उनको जवाफ पनि उस्तै। उनी सरासर कक्षा १० लेखेको कक्षा कोठामा छिरिन्। साथीहरुलाई होमवर्कको बारेमा सोधिन्। साथी प्रेमा आइपुगेकी थिइन् त्यति बेला। बिहान ९ बजे टिनिनि.. घण्टी बज्यो। सबै जना लाइनमा बसेँ। विद्यालयको प्रिन्सिपलले विद्यार्थीलाई कमाण्ड गर्न थाले। करिश्मा मानन्धर सबैभन्दा पछाडि गएर उभिइन्। उनको हाउस अनुसार। पिटि गरिन्, ‘वान, टु’ सबैसँग राष्ट्रिय गीत गाउन थालिन्, ‘सयौँ थुंगा फुलका हामी एउटै माला नेपाली’ कक्षा सुरु भयो। उनी फस्ट बेञ्चको छेउमा बसेर पढ्न थालिन्।

views: 15


लोकप्रिय समाचार