मुख्य समाचार > के राहुल गान्धीले पाउलान् सोनियाले नपाएको पशुपति दर्शनको अनुमति?

के राहुल गान्धीले पाउलान् सोनियाले नपाएको पशुपति दर्शनको अनुमति?

२०७५ भदौ १७, आइतवार - युवराज घिमिरे भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौं हुँदै हिन्दूहरुको अत्यन्त पवित्र तीर्थस्थल कैलाश मानसरोवरतर्फ लागेका छन्। यो यात्राले भारतमा, खासगरी सत्ताधारी भारतीय जनता पार्टी र राहुल गान्धीको नेतृत्वको कांग्रेसबीच हिलो छ्यापाछ्यापको अवस्था सिर्जना भएको छ। भाजपा नेता तथा सांसद डा. सुव्रमण्यम स्वामीले त ‘हिन्दू’ नभएकाले राहुल गान्धीलाई चीन सरकारले कैलाश यात्राको अनुमति दिन नहुने समेत माग गरेका छन्। तर, चीन सरकारको अनुमति, अनुमोदन र सम्भवतः स्वागतको निश्चितताबिना राहुल गान्धी चीनको त्यो भूभागमा जाने थिएनन्। निश्चय पनि यो यात्रा चीन–भारतबीचको वर्तमान कुटनीतिक सम्बन्ध, मोदी-सी जिङपिङबीच बुआनमा चार महिनाअघि भएको अनौपचारिक छलफल अनि भारतमा अर्को वर्ष हुने आम निर्वाचनमा ‘चीन फ्याक्टर’ को स्वरुपबारे थप छलफलको केन्द्रमा रहनेछ आगामी दिनमा। भारतीय राजनीतिको सेरोफेरोमा हेर्दा कांग्रेस ‘धर्म निरपेक्ष’ र भाजपा हिन्दूवादी पार्टी मानिन्छन्, यद्यपि निर्वाचन आयोग समक्ष भाजपाले पनि आफूलाई ‘धर्म निरपेक्ष’ पार्टीकै रुपमा दर्ता गराएको छ, भारतीय संविधानको बाध्यात्मक प्रावधानका कारण। झण्डै ६८ वर्ष पहिला भारतको संविधान जारी हुँदा भारतीय संविधानमा मुलुकलाई ‘धर्म निरपेक्ष’ उल्लेख गरिएको थिएन। संकटकालमा अर्थात् संविधान जारी भएको २५ वर्षपछि इन्दिरा गान्धीले भारतलाई ‘धर्म निरपेक्ष’ बनाइन्। त्यस अर्थमा सबै पार्टीले आफूलाई धर्म निरपेक्ष कबुल गर्नुपर्छ। तैपनि ‘धर्म’ बारे भारतीय राष्ट्रिय मूलधारका तीन राजनीतिक धारका मान्यता र आचरण बुझ्न कठिन छैन। स्वतन्त्रतापछिको पहिलो तीन दशक लगातार र पछिका चार पदावधि गरी २० वर्ष अर्थात् कुल ५० वर्षसम्म कांग्रेसले सत्ताको नेतृत्व गरेको छ, अगष्ट १५, १९४७ देखि यता। कांग्रेस पार्टीभित्रै परम्परावादी र धार्मिक मान्यता बोकेकासँगै अनिश्वरवादीहरु समेत मिश्रित पार्टी हो। यद्यपि पार्टी धर्मको ‘विवाद’ बाट प्रभावित भएको छैन। तर, भाजपाले ‘हिन्दूवाद’ चर्काउदा त्यसको विरोधमा कांग्रेस उठेको छ, यदाकदा। त्यस्तै अर्को धार भाजपा हिन्दुवादी मानिन्छ भने बिलाउँदै गएका कम्युनिष्ट शक्तिहरु धर्मसँग सरोकार नै राख्दैनन्। धर्म र नेहरु खानदान राहुल गान्धीको कैलाश यात्रालाई किन आलोचना गर्दैछ भाजपा? अझ सत्ताधारी दलका प्रवक्ता संवित पात्राले त दिल्लीबाट कैलाशका लागि प्रस्थान गर्नुपूर्व भारतका लागि चिनियाँ राजदूले बिदाइ गर्न खोजेको तर मोदी सरकारले अनुमति नदिएको दाबी गरेका छन्। यो दाबी साँचो हो भने यसका दुईवटा अर्थ लगाउन सकिन्छ। युवराज घिमिरे पहिलो: चीनसँग उच्चतम तहका भेटघाटलाई उपलब्धिका रुपमा प्रस्तुत गर्दै आएको मोदी सरकार आफ्नै मुलुकका अन्य शीर्ष नेतासँग चिनियाँ हिमचिम रुचाउँदैन। दोस्रो: प्रजातन्त्रमा प्रतिपक्षको हैसियत सरोकार राख्छ। प्रतिपक्षका नेतालाई एउटा विदेशी राजदूत उनको भूमिमा जान लाग्दा बिदाइ गर्न चाहन्छन् त्यसलाई सरकारले किन आपत्तिजनक मान्ने? भारतीय कांग्रेसका नेताहरुमा गान्धीको धर्मप्रति अगाध विश्वास थियो। अरु थुप्रैको पनि। तर उनका अनुयायी नेहरु नास्तिक थिए। मन्दिर र तीर्थबारे उनका आफ्नै मान्यता थिए र निकै हदसम्म छोरी इन्दिरा गान्धीलाई आफ्ना ती विचारद्वारा सानैदेखि प्रभावित गर्ने कोसिस गरेका थिए नेहरुले। इन्दिरा गान्धी निकटका केही व्यक्तिका अनुसार खासगरी बंगलादेशको जन्म र इस्लामिक पाकिस्तानको विभाजनपछि, भारतका बहुसंख्यक हिन्दूहरु राष्ट्रिय स्वयं सेवक संघलगायत उनीसँग खुशी भए। र, त्यसपछिको निर्वाचनमा उनलाई बहुमत दिए। अल्पसंख्यक मुसलमानमात्र होइन, बहुमत हिन्दुहरु पनि संगठित रुपमा मत दिँदारहेछन् भन्ने प्रमाण थियो त्यो। सन् १९७० पछिको त्यो चरणमा उनी केही मन्दिर र तीर्थहरुमा जान थालिन्। प्रखर आध्यात्मिक व्यक्तित्व आनन्दमयी माँले दिएको रुद्राक्ष धारण गरेका उनका त्यसबेलाका चित्रहरु सार्वजनिक पनि भए। त्यस्तै उनी बनारसस्थित अघोरेश्वर भगवान रामसँगै अन्य सन्तहरु कहाँ पनि जान थालिन्। डिसेम्बरमा कर्णाटकमा विधानसभामा निर्वाचनका दिन मोदीले मुक्तिनाथमा पूजा गरी ‘लाइभ टेलिकास्ट’ द्वारा कर्णाटकको मतदातालाई प्रभावित गर्न सक्छन् भने राहुल गान्धीका लागि कैलाश र पशुपति दर्शनबाट भारतमा राजनीतिक सन्देश दिन कठिन हुने छैन। राजीव गान्धीका तर्फबाट अजमेर सरिफ (सुफी तीर्थस्थल) मा ‘चादर’ अर्पण गर्नुका साथै अन्य केही धार्मिकस्थल गएका उदाहरण पनि छन्। त्यस्तै भारतीय जनता पार्टीले अयोध्यामा ‘राम मन्दिर’ बनाउनुपूर्व कांग्रेस पार्टीको सरकार उत्तर प्रदेशमा भएका बेला त्यो मन्दिरको शिलान्यासमा गएका थिए सन् १९८९ मा राजीव गान्धी। तर धर्मनिरपेक्षता र मन्दिर निर्माणबीचको द्वन्द्वात्मक जटिलता र निर्वाचनमा त्यसको सम्भावित परिणामलाई ध्यानमा राख्दै कांग्रेसले मन्दिर मुद्दा अघि बढाएन। भाजपाले एकलौटी रुपमा त्यसलाई अघि बढायो। तीन वर्षपछि बाबरी मस्जिद भत्कायो। मन्दिर बनाउन नसके पनि त्यस पछिका हरेक निर्वाचनमा भाजपाले त्यो मुद्दालाई उठाउँदै आएको छ, ‘हिन्दू’ मतलाई संगठित रुपमा आकर्षित गर्न। अधिकांश धर्म निरपेक्षवादी शक्तिहरुले ‘हिन्दू’ धर्म विरोधीका रुपमा आफूलाई प्रस्तुत गर्दा त्यसले एकातिर उदारवादी र मध्यममार्गी हिन्दूहरुलाई आक्रोशित तुल्याएको छ भने अर्कोतिर उग्र हिन्दूवाद र हिन्दूत्ववादी राजनीतिलाई प्रोत्साहित गरेको छ। त्यसको निकै ठूलो फाइदा भारतीय जनता पार्टीले पाएको छ खास गरी राम मन्दिरलाई उसले चुनावी मुद्दा बनाएपछि। कांग्रेसका लागि ‘हिन्दूत्ववादी’ देखिन संभव नभए पनि आफू ‘हिन्दू विरोधी’ नभएको स्थापित गर्नु आवश्यक भएको छ २०१९ को चुनावमा जानुअघि। राहुलको कैलाश यात्रा र सम्भावित पशुपतिनाथ दर्शनलाई ती संकेतका रुपमा हेरिनुपर्छ। डिसेम्बरमा कर्णाटकमा विधानसभामा निर्वाचनका दिन मोदीले मुक्तिनाथमा पूजा गरी ‘लाइभ टेलिकास्ट’ द्वारा कर्णाटकको मतदातालाई प्रभावित गर्न सक्छन् भने राहुल गान्धीका लागि कैलाश र पशुपति दर्शनबाट भारतमा राजनीतिक सन्देश दिन कठिन हुने छैन। सोनियापछि राहुलको पशुपतिनाथ दर्शन इटालीमा जन्मेकी र इशाई धर्मको पृष्ठभूमि भएको सोनिया गान्धीको राजीव गान्धीसँग विवाह र प्रधानमन्त्री निवासमा बसाइ यदाकदा भारतीय संसद र जनसंघ तथ भारतीय जनता पार्टीको आलोचनाको विषय बन्दै आएको थियो, खासगरी निर्वाचनताका। भाइ सञ्जय गान्धीको विमान दुर्घटनामा मृत्यु (१९८०, जुन २३) को एक वर्षपछि सोनियाले नचाहँदा नचाहदै पनि राजनीतिमा प्रवेश गरेका राजीव गान्धीका लागि सोनिया भारतीय बन्नु राजनीतिक बाध्यता बनिसकेको थियो। सन् १९८४ अक्टोबरको अन्त्यमा इन्दिरा गान्धीको हत्या र त्यसको लगत्तै राजीव गान्धी प्रधानमन्त्री बनेपछि त्यो बाध्यता झन बढ्न थाल्यो। भारतीयसँगै हिन्दू देखिनु पनि राजनीतिक हिसाबले लाभकारी हुन्छ भन्ने बुझाइ राजीवको मात्र हैन, कांग्रेसकै उपल्लो तहको पनि बन्यो। त्यही क्रममा सन् १९८६ तिर सोनियाको उडिसास्थित जगन्नाथ पुरीको दर्शन प्रयास असफल भयो। पूरी शंकराचार्य निश्चलानन्द सरस्वतीको आपत्तिपछि रोकिएको त्यो अभियानलाई गान्धी परिवारले पूर्णविराम भने दिएन। तर दुर्भाग्य, पशुपतिनाथको दर्शनबाट ‘हिन्दू’ हैसियत हासिल गर्ने वैकल्पिक प्रयासलाई त्यसबेलाका मूलभट्ट सुप्रमण्यमले अस्वीकार गरिदिए। राजा वीरेन्द्रले मन्दिरको मामिलामा हस्तक्षेप नगर्ने अडान लिएपछि उनको राजीव गान्धीसँगको सम्बन्ध खराब मात्र बनेन, नेपालले १८ महिनाको आर्थिक नाकाबन्दी पनि खेप्नुपर्‍यो। के सोनियाले त्यसबेला नपाएको प्रवेश राहुलले पाउलान् त पशुपतिनाथमा? सामान्य हिसाबले हेर्दा कर्णाटकमा सम्भावित दुर्घटनाका क्रममा कैलाश र शिवको याद गरेयता उनी शिवभक्त र धार्मिक रुपमा प्रस्तुत हुँदै आएका छन् जुन अस्वभाविक होइन। ईश्वर अनुभूति हो र परिस्थितिले जन्माएको आस्था पनि। कैलाश दर्शन र ‘कोरा’ सुनिश्चित छ। तर पशुपतिनाथमा उनको प्रवेशबारेको निर्णय कति स्वतन्त्र रुपमा गर्न पाउँछन् वर्तमान मूल भट्टले, त्यसमा भर पर्नेछ। कर्णाटकमा सम्भावित दुर्घटनाका क्रममा कैलाश र शिवको याद गरेयता उनी शिवभक्त र धार्मिक रुपमा प्रस्तुत हुँदै आएका छन् जुन अस्वभाविक होइन। ईश्वर अनुभूति हो र परिस्थितिले जन्माएको आस्था पनि। सामान्यतया: एउटा आस्थावान र आफूलाई शिवभक्त घोषणा गरेको व्यक्तिले सहजै पशुपतिमा प्रवेश र दर्शन पाउनुपर्ने हुन्छ। र, धर्मप्रतिको सम्मान बढाउने छ मन्दिरको उदार आचरणले। उनलाई पशुपतिनाथमा प्रवेश नदिइँदा त्यो महान आस्थाको प्रतीक पशुपतिनाथलाई धर्मको विस्तारभन्दा त्यसलाई खुम्च्याउनमा प्रयोग गरिएको मानिनेछ। यस्तै मोदी र भारतीय जनता पार्टी अन्तर्गतको भारतीय दूतावासले समग्र प्रकरणमा कुन भूमिका खेल्नेछ, त्यसले पनि यो प्रसंगलाई प्रभावित गर्नेछ। त्योसँगै मोदीसँग राजनीतिक रुपमा अहिले अति निकट बन्न पुगेका प्रधानमन्त्री केपी ओलीले यो विषयमा कसरी हस्तक्षेप गर्लान्, त्यसले पनि राहुलको पशुपतिनाथ दर्शन विषयमा अर्थ राख्नेछ। जे भए पनि राहुलले दर्शन पाएकै आधारमा अब नेपालले अर्को आर्थिक नाकाबन्दी खेप्नुपर्ने छैन पक्कै पनि। तर, राहुलले प्रवेश मन्दिर प्रवेश नपाएमा नेपाल अनुदार र असहिष्णु मुलुक मानिनेछ। पशुपतिमा दर्शन पाए पनि, नपाए पनि राहुलको कैलाश दर्शन पछिको स्वदेश आगमनले यो भ्रमण र चीनसँगको उनको कथित निकटता राजनीतिक विवादको विषय बन्नेछ, दिल्लीमा। अनि भाजपाले त्यसलाई बढी तन्काएमा सम्भवत त्यसले चीनलाई भारतको राजनीति र चुनावमा महत्वपूर्ण ‘फ्याक्टर’ का रुपमा स्थापित हुन मद्दत पुर्‍याउनेछ।

views: 34


लोकप्रिय समाचार