मुख्य समाचार > मानसिक सन्तुलन ठीक नभएका बिष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ ल्याइयो

मानसिक सन्तुलन ठीक नभएका बिष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ ल्याइयो

२०७५ भदौ १२, मङ्लबार निर्मलाको बलात्कारपछि हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गर्दै प्रहरी । काठमाडौँ – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिलिपसिंह बिष्टलाई काठमाडौँ ल्याइएको छ । मानसिक अवस्था ठीक नरहेको भनिएका उनको स्वास्थ्य जाँचका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य चेकजाँच हुने कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए । मंगलबार बिहानको उडानबाट बिष्टलाई काठमाडौँ पठाइएको कडायतले बताए । साउन १० गतेदेखि हराएकी निर्मलाको साउन ११ गते उखुबारीमा शव फेला परेको थियो। पोष्टमार्टम रिर्पोटमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो। कञ्चनपुर प्रहरीले निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकाल्दै भदौ ४ गते उनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । तर निर्मलाका आफन्त र स्थानीय बासिन्दाले बिष्टलाई नक्कली अभियुक्त भन्दै वास्तविक हत्यारा सार्वजनिक गर्न माग राख्दै आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा प्रहरीसँग झडप भएपछि एक बालकको ज्यान गएको थियो भने केही घाइते भएका थिए । निर्मला पन्त हत्या प्रकरणमा गम्भीर लापर्वाही गरेको आरोप लागेपछि सरकारले कञ्चनपुरका तत्कालिन प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई निलम्बन गरिसकेको छ । अहिले गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा रहेको अनुसन्धान टोली कञ्चनपुर खटाएको छ। टोलीले नयाँ शिराबाट सुरुदेखि घटनाको अनुसन्धान गरिरहेको छ ।

views: 16


लोकप्रिय समाचार