मुख्य समाचार > क्रोधले निम्त्याएको अपराध - गर्भवती श्रीमती र दुई छोरीको घाँटी थिचेर हत्या

क्रोधले निम्त्याएको अपराध - गर्भवती श्रीमती र दुई छोरीको घाँटी थिचेर हत्या

२०७५ भदौ ५, मङ्लबार अमेरिकाको क्लोराडोका एक व्यक्तिमाथि गर्भवती श्रीमती र दुई छोरीको हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको छ । क्लोराडोका ३३ वर्षीय क्रिस वाट्सले गएको हप्ता दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा स्थानीय अदालतमा मुद्दा दर्ता गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । क्रिसले ३४ वर्षकी श्रीमती शानन वाट्स तथा तीन वर्षकी छोरी सेलेस्ट र चार वर्षकी छोरी बेलाको घाँटी अँठ्याएर हत्या गरेको अदालतमा प्रस्तुत गरिएको कागजातमा उल्लेख रहेको बिबिसीले जनाएको छ । क्रिसले श्रमतीसँग आफू छुट्टिन चाहेको बताएपछि परिवारका सबै सदस्यको हत्या गरेका हुन् । क्रिसले प्रहरीसँग आफूले क्रोधमा आएर हत्या गरेको स्वीकार गरेका छन् । क्रिसलाई मंगलबार अदालतमा प्रस्तुत गरिनेछ । उनले फ्रेडिरिकमा रहेको घरमै श्रीमती र छोरीहरुको हत्या गरेका हुन् । क्रिसले हत्यापछि शव पुरेका थिए । प्रहरीले गएको बिहीबार शानन वाट्सको शव क्रिसले काम गर्ने पेट्रोलियम कम्पनीको तेल ट्यांक नजिक गाडिएको अवस्थामा भेट्टाएको थियो । बेला र सेलेस्टरको शव पनि आमाको शव नजिकै भेट्टिएको थियो । शानन १५ हप्ताकी गर्भवती थिइन् । क्रिस पछिल्लो समय आफूले काम गर्ने ठाउँकी एक महिलासँग प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ । तर उनले यो कुरा अस्वीकार गर्दै आएका छन् । गएको हप्ताको सोमबार शानन एरिजोनामा व्यवसायिक भ्रमण सकेर घर फर्किएकी थिइन् । क्रिसले त्यसपछि आफूले सम्बन्ध बिच्छेद चाहेको बताएका थिए । उनले सम्बन्ध बिच्छेद प्रक्रियाको अगुवाई गर्न आग्रह गरेका थिए । यो विषयको कुराकानी सौहार्द नै रहेको र शानन क्रोधित भन्दा पनि इमोशनल बनेको क्रिसले बताएका छन् । क्रिसले श्रीमतीको हत्या गरेपछि दुई छोरीको पनि हत्या गरेका हुन् । उनले आफ्नो ट्रकमा शव राखेर तेल ट्यांक नजिक लगेर गाडेका हुन् । शाननले स्थानीय समय अनुसार सोमबार बिहान १० बजेका लागि लिइएको डाक्टरको अप्वइन्टमेन्टमा उपस्थित नभएपछि उनकी एक साथीले यसबारे कुरा उठाएकी थिइन् । उनले शाननको कारण गराजमा फेला पारिन् । त्यसपछि क्रिसलाई फोन गरेर शनन बिरामी भएको हुन सक्ने बताइन् । क्रिस आए, त्यसबेलासम्म प्रहरी आइसकेको थियो । प्रहरी वाट्सको घरमा पस्यो, भान्छामा शाननको ह्याण्डब्याक भेट्टियो । प्रहरीले त्यहाँ कुनै अपराध भएको संकेत पाएन । तर गएको बुधबार वाट्सले स्थानीय टेलिभिजन मार्फत आफ्नो परिवारका सदस्य हराएको र सुरक्षित रुपमा फर्किउन् भन्ने चाहेको बताए । उनले पत्रकारसँग भनेका थिए, ‘मलाई उनी कहिँ सुरक्षित हुन् भन्ने चाह छ र उनीहरु घर फर्किउन् भन्ने चाहन्छु ।’ त्यसपछि प्रहरीले थालेको अनुसन्धानबाट क्रिसले नै श्रीमती र छोरीहरुको हत्या गरेको खुलेको हो । हत्याको घटनाबाट परिवार तथा साथीहरु ‘सक’ भएका छन् ।

views: 14


लोकप्रिय समाचार