मुख्य समाचार > कालो धन र भ्रष्टाचारलाई छुट दिँदैनौँ : मोदी

कालो धन र भ्रष्टाचारलाई छुट दिँदैनौँ : मोदी

२०७५ साउन ३०, बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई बलात्कार मुक्त बनाउनु पर्ने बताएका छन् । स्वतन्त्रता दिवसको अवसरमा राजधानी नयाँ दिल्लीको लाल किल्लामा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले महिलाको हक अधिकार पूर्ण रुपले दिलाउनका लागि आफ्नो सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । भारत अंग्रेजको शासनबाट मुक्त भएको दिनको सम्झनामा हरेक वर्ष अगस्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरिएको छ । भारत सन् १९४७ मा स्वतन्त्र भएको थियो अर्थात भारत स्वतन्त्र भएको बुधबारदेखि ७१ वर्ष पूरा भएर ७२ वर्ष लागेको छ । लाल किलामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कालो धन तथा भ्रष्टाचारलाई कुनै पनि हालतमा छुट नदिने बताएका छन् । जति र जस्तोसुकै समस्या आए पनि भ्रष्टार विरुद्धको अभियानलाई निरन्तरता दिने मोदीले दाबी गरेका छन् । यस्तै उनले आउँदो सेप्टेम्बरदेखि लागु हुने गरी प्रधानमन्त्री जन आरोग्य अभियान (आयुष्मान भारत योजना) लागु गर्ने घोषणा गरेका छन् । यो योजना अन्तर्गत १० करोड परिवारले लाभ लिने पाउने उनले बताएका छन् । मोदीले आफूले सत्ता सम्हालेदेखि देशमा धेरै परिवर्तन भएको दाबी पनि गरेका छन् । सन् २०१४ मा सत्तामा आएका मोदीको यसपटकको भाषणा स्वतन्त्रता दिवसका अवसरमा दिइएको पाँचौँ भाषण हो । सन् २०१९ मा चुनाव हुने भएकाले आउँदो स्वतन्त्रता दिवसमा निर्वाचित भएर आएको नयाँ सरकारका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् । मोदीको पार्टी भाजपा आउँदो चुनावमा पनि जित निकाल्दै सत्तामा टिकिरहने लक्ष्यका साथ अहिलेदेखि नै चुनावी अभियानमा छ । यसले गर्दा मोदीले बुधबार रणनीतिक र चुनावी नजरमा अर्थ पूर्ण हुने गरी भाषण गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले सबैको साथमा सबैको विकास गर्ने नारा लगाउँदै आएका छन् । तर अझै पनि देशको ठूलो हिस्साका मानिस आधारभूत आवश्यकताकै लागि समस्यामा रहेकाले पहिले उनीहरुका ती आवश्यकता पूरा गर्नुपर्ने विश्लेषकले बताउने गरेका छन् ।

views: 14


लोकप्रिय समाचार