मुख्य समाचार > बन्द निष्क्रिय, देशभरको सुरक्षा व्यवस्था कडा

बन्द निष्क्रिय, देशभरको सुरक्षा व्यवस्था कडा

२०७५ साउन २९, मङ्लबार काठमाडौँ – देशभरको सुरक्षा व्यवस्था कडा पारिएको र अहिलेसम्म गम्भीर खालको कुनै पनि घटना नभएको प्रहरीले जानकारी दिएको छ । नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरे पनि त्यसको प्रभाव निकै न्यून परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए । काठमाडौँ उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको र बिहान ३ बजेदेखि नै ठूलो संख्या प्रहरी खटाइएको उनले जानकारी दिए । उनले भने, ‘बन्दको प्रभाव त्यति परेको छैन । सुरक्षा व्यवस्था कडा पारेका छौँ । अज्ञात समूहले केही ठाउँमा शंकास्पद बस्तु र बम राखेर तर्साउन खोजे पनि ती बस्तु सुरक्षित रुपमा निष्क्रिय पारिएको छ ।’ नागरिकको सुरक्षाका लागि आफूहरु प्रतिबद्ध रहेको उनले बताएका छन् । काठमाडौँको नैकापसहितका केही ठाउँ, ललितपुरको ग्वार्को, थसिखेल र बटुकभैरव तथा भक्तपुरको लोकनथली र सूर्यविनायकमा भेटिएका प्रेसर कुकर बम तथा शंकास्पद बस्तु निष्क्रिय पारिएको प्रहरीले जनाएको छ । काठमाडौँ, ललितपुर तथा भक्तपुरका प्रहरी प्रमुखले सुरक्षा व्यवस्था कडा पारिएको तथा बन्दको प्रभाव निकै कम परेको बताएका छन् ।

views: 13


लोकप्रिय समाचार