मुख्य समाचार > माटो नपाएको शवको कथा अनि मनमा गाँठो पर्ने त्यो तस्बिर

माटो नपाएको शवको कथा अनि मनमा गाँठो पर्ने त्यो तस्बिर

२०७५ साउन २५, शुक्रबार कमल, कोशीमा बग्दै गरेको धमिलो पानी, मनमा बसेको खिल अनि सान्भी। फोटो पत्रकार नरेन्द्र श्रेष्ठले पछिल्लो एक वर्षका रहेक दिन आँखामा बसाएको क्षीतिज र पाइतालाले नापेका बाटोमा आइरहेका अप्ठ्यारो–सजिलो हुन् यी। ठ्याक्कै एक वर्ष पहिले एउटा पीडाको तस्बिरले देख्नेको मन कुँड्यायो, सुन्नेको मनमा पनि गाँठो पार्‍यो। तस्बिर यस्तो थियो–पुरानो कम्बलमा बेरिएको बालकको शव, लगातारको वर्षाका कारण धमिलिएको कोशीको पानी, त्यही पानीमा आधा जिउ डुबेका अधवैँशे र उनले हातबाट त्यही धमिलो पानीमा छोडिँदै गरेको शव। माटो नपाएको शवको कथा २०७४ साउन, लगातारको झरी। सप्तरीको कुलारी गाउँमा फुदन सदाको फुसको झुपडी–महल। झरीले बाढीको रुप लियो। बिनासले विरुप बनायो पूरै गाउँ। बिरामी परेका फुदनका ८ वर्षे छोराको मृत्यु भयो। सदा परिवारको संस्कार अनुसार जमिनमा गाड्नु पर्ने थियो कमलको शव। पानीले कतै माटो देखिएन, शव राख्ने कुरो पनि भएन। अनि विकल्प बनेर आयो कुलारी गाउँ अल्लिपर मदमस्त भएर बग्दै गरेको धमिलो कोशीको पानी। ठूलोबुवाले कमललाई कम्बलसहित त्यही कोशीमा बगाए। फुदन मजदुरीका लागि धरानमा थिए, छोरो बग्दै गर्दा पनि साथमा हुन पाएनन्। मनमा पसेको चिसो लिएर फुदन डुबेको घर कुलारी गाउँ आइपुगे, तर उनले सपनाले हुर्काउँदै गरेका कमल भने कोशीसँगै बग्दै बग्दै गए। नरेन्द्रको क्यामरामा अटाए, धेरैलाई हल्लाए २०५२ सालमा देशको शासन व्यवस्थामा असहमति जनाउँदै तत्कालीन माओवादीले सशस्त्र संघर्ष सुरु गर्‍यो। त्यसकै छेको पारेर सपनाले भरिएको २०–२२ वर्षे ठिटो नरेन्द्रको जीवनमा कामकाजी अध्याय सुरु हुँदै थियो। इच्छाएको सुरक्षा सेवामा प्रवेश पाएनन्, अनि आफूलाई चिन्दै गएको र आफूले पनि चिन्न थालेको क्यामराको बाटो रोजे नरेन्द्रले। उनले फोटो पत्रकारका रुपमा काम गर्न सुरु गरे। जीवनको उकालोमा दुई बिस र कामको गोरेटोमा दुई दशक बिताइसकेका नरेन्द्रले हजारौँ फोटो खिचे। बाढी खिचे, घडेरी, हिउँद, बर्खा, धुलो–मैलो खिचे। उनका क्यामरा हुँदै देशको राजनीतिक परिवर्तनको माध्यम छापियो। रगत खिचे, आँसु समेटे अनि समेटे खुशीहरु। संस्कृति र विपदले ढलाएका सम्पदा पनि उनको क्यामरामा अटाए, पुगे अन्तर्राष्ट्रिय मिडियासम्म। तर गएको बर्खा उनले चाहेर पनि भुल्न सकेका छैनन्। अघिल्लो साउनमा नरेन्द्र उनको क्यामरासहित सप्तरीमा थिए। लगातार पानी पर्‍यो। हेर्दाहेर्दै पानीले बाढीको रुप लियो। कति बगायो, डुब्यो सबैतिर। बाढीको बिनास खिच्दै थिए, थाहा पाए–एउटा बच्चाको शवले गाडिन जमिन पाएन र बगाईँदैछ। अनि लागे कुलारी गाउँको नजिक हुँदै बगेको कोशीतिर। काखमा कमलको शव लिएका अधवैँशे उनका ठूलो बुवा र एक गाउँले अनि थिए नरेन्द्र। ती अधेड उमेरका व्यक्ति कमलालाई कोशीको पानीमा छोड्दै थिए, नरेन्द्रले खिच्दै गए। क्यामरा पानीले रुझायो, त्यो भन्दा बेसी भिजेको थियो नरेन्द्रको मन। यो भन्दा ठूलो बिनास खिच्नु छैन साउन २९ गतेको बिहान बाढीको पानीमा बगेका कमलको फोटो खिचेपछि उनलाई अरु खिच्न आवश्यक लागेन। ‘बाढीको बिनास धेरै थियो, हामीजस्ता फोटो पत्रकारका लागि खिच्नु पर्ने धेरै कुरा पनि। तर जमिन नपाएको कमलको शव भन्दा ठूलो बिनास केही हुँदैन जस्तो लाग्यो। अनि क्यामरा प्याक गरेर फर्किने निर्णयमा पुगेँ’, त्यो उज्यालो तर अँध्यारिएको बिहानको सम्झना गर्दा नरेन्द्रको अनुहारको रंग केही फेरियो वा भनौँ बादल घेरियो। अरु पनि तस्बिर थिए, थिए बिनासहरु। तर उनको मन हुँडलिरह्यो कलमको बग्दै गरेको तस्बिरले। विवादित बन्ला कि भन्ने भय पनि आयो। ‘फोटो खिचेँ, तर त्यसलाई सार्वजनिक गर्ने/नगर्ने निर्णय लिन समय लाग्यो। विवादित बन्छ कि भन्ने पनि भयो। तर पेशाको धर्मले डोर्‍यायो, लाग्यो–जे हो त्यो त देखाउनै पर्छ, अनि २४ घण्टापछि सार्वजनिक गरेँ’, नरेन्द्रले कमलको अप्ठ्यारो खिचेपछि चलेको हुण्डरी सुनाए। कमल खिच्दै, सान्भी सम्झिँदै झण्डै कम्मरसम्म आएको पानीमा उभिएर कमल सदाको फोटो खिच्दै थिए तर नरेन्द्रको मनमा भने सान्भी थिइन्। सान्भी अर्थात उनकी त्यो बेला ९ वर्ष भएकी छोरी। फुदन सदाले सपनाले हुर्काइरहेका कमलले जीवनको फेर पूरा काट्न पाएनन्। अनि पाएनन् बिलय हुने जमिन पनि। त्यो पीडक कथाले नरेन्द्रलाई हुत्यायो काठमाडौँमा रहेकी छोरी सान्भीसम्म। फुदनले कमलाका लागि देखेको सपना र नरेन्द्रले सान्भीका लागि बनाएको सपनाको आकार फरक होला तर भावना पक्कै उस्तै थियो। आयतन भिन्न भए पनि एक बुवा हुनुको खुशी र संवेग अलग थिएन। हुँडलिएको मन र बाढीको पूरा कथा बोल्ने कमलको फोटो अनि सान्भीको सम्झना एकैसाथ आउँदा नरेन्द्रलाई सजिलो भएन। खिल बनेर बसेको तस्बिर छापियो, राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय मिडियामा पनि। कमल सदाको परिवारलाई सहयोग जुट्न थाल्यो। सामाजिक सञ्जालमा चर्चा भयो। कवि विवश पोखरेलले कमलकै कथालाई ‘बग्दै बग्दै जाने छोरासँग’ कवितामा समेटे। सबै हुँदै गयो, नरेन्द्रको मनमा भने खिल पर्दै गयो कमलको तस्बिर। ‘मैले च्याप्टर क्लोज गर्न चाहेको तस्बिर थियो, तर झन फैलिँदै गयो,’ नरेन्द्रले भने। भेटेको हैन तर नरेन्द्रलाई जहिले कमलका बुवा फुदनको पिरलोले सताउने। केही गर्न सकिएन कमलका लागि भन्ने हुटहुटीले बराल्ने। तर वर्षदिनपछि त्यो उपाय फेला पर्‍यो। छोरीको जोडबलमा खिल निकाल्ने यात्रा नरेन्द्रले छोरी सान्भीको नाम उनको भातख्वाइका दिन नमेटिने गरी बायाँ हातको नाडी भन्दा माथिल्लो भागमा छापेका छन्, सुन्दर ट्याटुको रुपमा। हुर्किँदै जाँदा सान्भीले उनलाई फोटो सम्पादनमा सजिलो बनाउँदै गएकी छन्। तर कमलको फोटो र त्यसको कथा सान्भीलाई सुनाउने मन थिएन। फेरि रोकिएन बुवाको मन। अनि सुनाए सान्भीलाई ‘कलम–पीडा’ को ‘सदा–कथा’। सायद सान्भीले बुवाको मनमा परेको गाँठो र बिखालु खिलझैँ बनेर बसेको कमलको तस्बिर बुझेकी थिइन्। नरेन्द्र केही गर्न चाहन्थे। र, माध्यम कमलकै तस्बिर बन्ने सम्भावना पनि थियो। फोटो पत्रकारहरुको संस्था, पिजे क्लबले फोटो प्रतिस्पर्धा आयोजना गर्‍यो। सान्भीले नरेन्द्रलाई झकझक्याइन्। कमलको त्यही कोशीमा बगिँदै गरेको तस्बिर उनैले रोजिन्। प्रतिस्पर्धामा पठाउन लगाइन् र भनिन्, ‘बाबा तपाईँको तस्बिरले जित्छ, पुरस्कारमा आएको पैसा कमलको परिवारलाई दिनु पर्छ।’ नरेन्द्रको प्रतिस्पर्धामा भाग लिने र त्यसपछिको अपरिपक्व योजनाले आकार लियो। भाग लिए। अनि जिते, वर्ष तस्बिर अर्थात फोटो अफ दि इयर अवार्ड। अवार्ड बापत पाए एक लाख रुपैयाँ। नरेन्द्रले कमलका बुवा फुदनलाई काठमाडौँ बोलाए। औपचारिक कार्यक्रममा कमलको तस्बिरले पाएको पुरस्कार रकम उनका बुवालाई सुम्पिए। छट्पटी थियो, अब केही शान्त हुन थालेको छ नरेन्द्रको मन। देख्दा फुदन वा कमलको परिवारका लागि गरेको सहयोग जस्तो लाग्छ। तर नरेन्द्रले भने आफ्नै लागि वा आफैँलाई सजिलो बनाएका हुन्। ‘यो सहयोग सदा परिवारका लागि होइन, मेरा लागि हो। कमलको आत्माले शान्ती पाउने बाटोका लागि मेरो प्रयास मात्रै हो। वर्ष दिन निदाउन सकिन। अब चाहिँ मनको खिल निस्किए जस्तो भएको छ। अहिले राम्रो निन्द्रा पर्छ’, नरेन्द्रले भने, ‘सान्भीले मलाई सजिलो बनाइदिइन्।’ नरेन्द्रलाई आफ्नो पेशाको धर्म थाहा छ। अनि यो पनि ख्याल छ कि फेरि यस्तै पीडाहरु पक्कै खिच्नु पर्नेछ, फरक रुपमा किन नहोस्। तर उनलाई अब कमल सदाहरुको तस्बिर खिच्नु नपरोस् भन्ने छ। ‘यस्तो च्याप्टर बन्द होस्, खिच्नु नपरोस् अरु कमलहरु।’

views: 13


लोकप्रिय समाचार