मुख्य समाचार > पेचिलो बन्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया

पेचिलो बन्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया

२०७५ साउन १३, आइतवार काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाई प्रक्रिया लम्बिँदै गएको छ । गएको बिहीबारदेखि संसदीय सुनुवाई समितिमा सुनुवाई सुरु भए पनि विवादका कारण निर्णय हुन सकेको छैन । शुक्रबार बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको सुनुवाई समितिको बैठक फेरि स्थगित भएको छ । सुनुवाईका लागि बोलाइएको बैठक आइतबार केही बेर बसेर सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । समितिका दुई सदस्य पुष्पा भुसाल र जितेन्द्र देव अनुपस्थित भएकोले आइतबारको सुनुवाई समितिको बैठक स्थिगित भएको नेकपाकी सांसद निरुदेवी पालले जानकारी दिइन् । बैठक केहीबेर बसेर सोमबारसम्मका लागि स्थिगित भएको हो । तर बैठक स्थिगित हुनुको कारण प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षित प्रमाणपत्रमा देखिएको विवाद रहेको स्रोतले बताएको छ । जोशीको शैक्षिक प्रमाणपत्र सम्बन्धी विवादमा समितिका सदस्य एकमत हुन सकेका छैनन् । नेकपाका सांसदले प्रमाणपत्रको छानविन गरेर मात्रै अनुमोदन गर्ने या नगर्ने निर्णय गर्नु पर्ने प्रस्ताव गर्दै आएका छन् । सुनुवाई समितिको बैठक पटक पटक सरेकाले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र जोशीको शैक्षिक प्रमाणपत्र विवाद पेचिलो बन्दै गएको छ । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको हुँदा आन्तरिक र थप छलफल गर्नु पर्ने देखिएको समितिका सदस्यले बताएका छन् । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गएको चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरेका रहेका छन् ।

views: 19


लोकप्रिय समाचार