मुख्य समाचार > प्रधानन्‍यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ समितिलाई जम्‍मा १३ मिनेट जवाफ!

प्रधानन्‍यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ समितिलाई जम्‍मा १३ मिनेट जवाफ!

२०७५ साउन १०, बिहिबार काठमाडौँ- प्रस्तावित प्रधानन्‍यायाधीश दीपकराज जोशीले संसदीय सुनुवाइको क्रममा सांसदहरुले सोधेको अधिकांश प्रश्‍नहरुको जवाफै नदिई आफ्ना भनाइहरु राखेका छन्। बिहीबार दिउँसो सवा १ बजेबाट सुरु भएको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले उनलाई ३:४५ सम्‍म प्रश्‍नहरु सोधेका थिए। सांसदहरुले सोधेका प्रश्‍नहरुको जवाफ दिने क्रममा जोशीले जम्‍मा १३ मिनेटमा अधिकांश प्रश्नको उत्तर दिएर टुंग्याएका थिए। सुनुवाइका क्रममा सांसदहरुले जोशीलाई न्‍यायालयमा भ्रष्टाचार र अपराध नियन्त्रण गर्न के गर्नुहुन्छ? सार्वजनिक जग्‍गाहरु व्‍यक्तिको नाममा नामसारी गर्न तपाईँको भूमिका छ, त्‍यसको जवाफ दिनु होला। अदालतको अन्तरिम आदेशले देशका ठूल्ठूला कम्पनीहरुलाई करमा किन छुट हुन्छ ? सर्वोच्‍च अदालतका प्रधानन्‍यायाधीश शैक्षिक प्रमाणपत्र किन विवादमा आउँछ ? तपाईँ पनि किन विवादमा पर्नुभयो? अदालत किन विकासमैत्री बन्‍न सकेन ? लगायत प्रश्‍न गरेका थिए। तर सांसदहरुले गरेका अधिकांश प्रश्‍नहरु लत्‍याउँदै १३ मिनेटमै जोशीले सटिक जवाफ फर्काएका थिए। त्‍यसक्रममा जोशीले अदालतमा विचाराधीन विषयमा बोल्‍न नमिल्‍ने बताएका थिए। उनले भने, ‘अदालतका कतिपय विचाराधीन विषयमा हामी बोल्‍न मिल्‍दैन। यदि संसदले बाध्‍य बनायो भने/बोल्‍नै परे त्‍यो विषयमा जवाफ दिन तयार छु।’ यता अधिकांश प्रश्‍नको जवाफ नदिएपछि संसदीय सुनुवाइ समितिका सदस्यहरु पार्वत गुरुङ र सुरेन्द्र पाण्डेले आपत्ति जनाएका थिए। सुनुवाइ समितिका सदस्‍य माननीय सुरेन्द्र पाण्डले सुनुवाइको सामान्‍य नियम सबैले पालना गर्नु पर्ने बताए। उनले भने, ‘सुनुवाइको महत्व हामी आफैँले बढाउनुपर्छ।यो काम उच्च पदमा बस्‍ने व्‍यक्तिहरुले आफ्नो पदीय मर्यादा र कर्तव्‍यलाई जिम्‍मेवारीका साथ बहन गर्नुपर्छ।’ यस्तै समितिका अर्की सदस्य पार्वत गुरुङले जोशीलाई पदीय आडम्बर नदेखाउन चेतावनी दिएकी दिए। उनले आक्रोशित हुँदै भने, ‘तपाईँ माननीयहरुलाई साथी भन्‍ने?तपाई पदीय आडम्‍बर नदेखाउनुस्। हामीलाई माननीय सदस्‍यहरु भन्‍नुहोस्।’ जोशीले सांसदहरुलाई साथीहरु भनेपछि सांसदहरु आक्रोशित भएका थिए।

views: 21


लोकप्रिय समाचार