मुख्य समाचार > सरकार र डा.केसी बीचको वार्तामा कुरा मिलेन

सरकार र डा.केसी बीचको वार्तामा कुरा मिलेन

२०७५ साउन ९, बुधबार काठमाडौं – सहमति नजिक पुगेको भनिएको डा. गोविन्द केसी र सरकारबीचको वार्तामा कुरा नमिलेपछि स्थगित भएको छ। दिउँसो साढे एक बजेदेखि सुरु वार्ता चार बजेर १० मिनेटमा स्थगित भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहोनीले बताए । डा. लोहोनीका अनुसार केही महत्वपूर्ण विषयमा कुरा मिल्न बाँकी नै छ र बुधबार नै दुवै पक्षबाट पुन : सहमतिको प्रयास गरिने छ। उपत्यकामा १० वर्ष मेडिकल कलेजलाई सम्बन्धन नदिने डा. केसीको मुख्य माग संवोधन कसरी गर्ने भन्नेबारे छलफल भएपनि दुवै पक्ष सहमतिमा पुग्न नसकेका हुन्। सरकाद्धारा संसदमा दर्ता विधेयकबाट हटाइएको एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने भन्ने विषयमा पनि दुवै पक्षबीच सहमति हुन सकेको छैन। वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने छन्। यस्तै डा केसीका तर्फबाट डा जीवन क्षेत्री, डा अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे सहभागि छन्। यसैबीच डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन उनको उपचारमा संलग्न चिकित्सकले बुधबार पत्रकार सम्मेलन गर्दैछन्।

views: 14


लोकप्रिय समाचार